रुपन्देही, ८ असोज
आज विश्व फार्मेसी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । नेपाल फार्मेसी संघ रुपन्देहीले शुभकामना आदानप्रदान कार्यक्रम गरी विश्व फार्मेसी दिवस मनाएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले औषधि वितरण मात्रै नभएर जनस्वास्थ्यका हिसावले पनि फर्मासिष्टको धेरै महत्व रहेको बताउनु भयो । उहाँले फर्मासिष्टका समस्या समाधानको लागि सरकारी तथा गैरसरकारी क्षेत्र औषधि भएको ठाउँमा फर्मासिष्टको दरवन्दी सिर्जना गराउनको लागि प्रदेश तथा संघीय सरकारसम्म पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । फार्मेसी संघले उठान गरेका माग जायज रहेको बताउँदै उहाँले जायज माग सम्बोधन गर्न सरकारसंग आग्रह गर्नुभयो ।
अहिले पनि दुरदराजमा कार्यालय सहयोगीका भरमा स्वास्थ्य संस्था चलिरहेको भन्दै उहाँले यी सबै कुरालाई सुधार गर्ने काममा लाग्न सरकारलाई आग्रह गर्नुभयो । संघीयताको कार्यान्वयन पछि पनि केन्द्रिकृत मानसिकता त्याग्न नसकेका कारण प्रदेश तथा स्थानीय तहले राम्रो संग काम गर्न नपाएको उल्लेख गर्दै उहाँले प्रदेशमा बनेका कानुन समेत कार्यान्वयनमा आउन नसकेको बताउनु भयो ।
कार्यक्रममा नेपाल फार्मेसी संघ रुपन्देहीका अध्यक्ष गणेश सेढाईले राज्यले ‘जहाँ औषधि, त्यहाँ फर्मासिष्ट’लाई अंगिकार गरेपनि कार्यान्वयन नहुनु दुःखद रहेको बताउँदै औषधिको प्रयोग हुने ठाउँमा अनिवार्य फार्मेसीको दरवन्दी सिर्जना गर्नुपर्ने माग गर्नुभयो ।
अन्तर्राष्ट्रिय फर्मास्युटिकल महासंघ (एफ.आई.पी.) परिषदको सन् २००९ मा टर्कीमा बसेको बैठकले सेप्टेम्बर २५ लाई विश्व फार्मासिष्ट दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । त्यसयता प्रत्यक वर्ष २५ सेप्टेम्बरमा फार्मासिष्ट दिवस मनाउँदै आईएको छ । यो वर्ष ‘फर्मासिष्ट स्टेन्थिनिङ हेल्थ सिष्टम’ भन्ने नाराका साथ फार्मेसी दिवस मनाईएको छ ।
संघका रुपन्देही अध्यक्ष सेढाईका अनुसार सन् २०१५ मा नेपाल फार्मेसी संघ गठन गरिएको थियो । त्यस्तै रुपन्देहीमा २०७८ मा जिल्ला शाखा गठन गरिएको थियो । संघका महासचिव उदयबहादुर खत्रीका अनुसार सहि औषधिको प्रयोगलाई प्रवद्र्धन गर्नको लागि राज्यका निकायमा फार्मेसीको दरवन्दी सिर्जना गर्नुपर्ने, औषधिको विक्रि वितरण हुने ठाउँमा अनिवार्य फार्मासिष्टको व्यवस्था गर्नुपर्ने संघले माग गर्दै आएको छ ।