काठमाडौं, २ माघ । काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नेपाली सेना आफैंले बनाउने भएको छ ।
नेपाली सेनाले मंगलबार सैनिक मुख्यालय भद्रकालीमा पत्रकार सम्मेलन गरी काठमाडौं– निजगढ दु्रतमार्गको डिपीआर आफैंले बनाउने जानकारी गराएको छ । भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार परेको डिपीआर महंगो भएपछि नेपाली सेना आफैं डिपीआर बनाउन तयार भएको हो ।
डिटेल इन्जिनियरिङ गर्न आह्वान गरिएको कन्सल्टेन्टहरुबाट आवश्यक थप अध्ययन गराई आयोजनाको डीपीआर तयार गरिने आयोजनाका उपप्रमुख सहायक रथी सूर्यप्रसाद खनालले जानकारी दिनुभयो । नेपाली सेनाले दू्रतमार्ग भित्र परेका जग्गाको मुआब्जा र घरटहराहरुको क्षतिपूर्तिसम्बन्धि सम्पूर्ण कार्यहरु आगामी ६ महिना भित्र सम्पन्न गर्ने योजना बनाएको छ ।
दु्रतमार्गको कामलाई अघि बढाउन फिल्डमा ३ सय ३१ जना सैनिक परिचालन गरिएको नेपाली सेनाले जनाएको छ । लामो विवादपछि गत बैशाख २१ गते पुष्पकमल दाहाल नेतृत्वको सरकारले दु्रतमार्ग निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।