पुष्कर भट्ट
कञ्चनपुर, भाद्र २३
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका गाउँबस्तीमा यतिबेला गौरासंगै देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक छाएको छ । जिल्लाको हरेक गाउँबस्तीमा देउडा भाका गुञ्जिन थालेका छन् । हरेक उत्सवमा खेलिने देउडाले यतिबेला कञ्चनपुरको माहोल तताएको छ । सुदूरपश्चिमवासीको प्रमुख चाड गौरा पर्व सुरु भएसँगै यहाँ देउडामय बनेको छ । गौरा पर्वसँगै तराईका जिल्ला कैलाली र कञ्चनपुरका ग्रामीण बस्तीसम्म यतिबेला गोलबद्ध भएर देउडा खेल्ने प्रसस्त भेटिन्छन् ।
जिल्लाको सदरमुकाम महेन्द्रनगरको शिवधाम परिसरदेखि जिल्लाभरका विभिन्न स्थानमा देउडाका पारखी देउडा खेल्दै रमाइरहेका छन् । काँधमा काँध र पैताला मिलाएर खेलिने देउडा सुदूरपश्चिमको पहिचान बनेको छ । देउडामार्फत सुखदुःख, मिलन विछोड तथा माया प्रीतिका कुरा व्यक्त गर्ने र तालमा ताल मिलाएर देउडा खेल्ने गर्छन् । यहाँका पहाडी समुदायमा जुनसुकै उत्सव र खुसियालीमा देउडा खेल खेल्ने चलन छ ।
गौरापर्वमा गौराको महत्व छुट्टै भएपनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेका छन् । देउडामा कुनै भेदभाव नरहेको र देउडा खेल नारी पुुरुष, युवा, पाका सबै पुुस्ताले खेल्ने गर्दछन् । देउडामा पुराना धार्मिक र राजनीतिक कथादेखि समाजका गतिविधि गीतमार्फत बाहिर ल्याउने गरिन्छ । गीतमार्फत नै गतल प्रवृत्तिका विरुद्ध प्रहारसमेत गरिन्छ ।
सुदूरपश्चिममा अन्य चाडपर्व र मेला जात्रामा पनि देउडा खेल्ने गरिन्छ । यद्यपी गौरा पर्वका बेला खेलिने देउडाको महत्व झन् बढी हुने गर्दछ । गौरा सुरु भएदेखि यहाँका गाउँबस्तीमा २०÷२५ दिनसम्म देउडा खेल्ने गरिन्छ । देउडामा वर्तमान राजनीतिक स्थिति र समाजमा घटेका घटना र विकृतिमाथि ब्यङ्ग्य पनि गरिन्छ ।
गोलो घेरामा एक आपसमा हात बाँधेर ठूलो समूहले गाउँदै नाच्ने गरिन्छ । त्यसैगरी गौरापर्वकै अवसरमा ढुस्को धुमारीलगायतका खेलहरू पनि खेल्ने गरिएको छ । संस्कृति मासिँदै गए पहिचानसमेत हराउँदै जाने भएकाले यसको पुस्तान्तरण आवश्यक रहेको अग्रजहरुको भनाई छ ।
देउडामा युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्म रमाइरहेका हुन्छन् । देउडा डोट्याली लोक साहित्यको एक प्रमुख विधा भएको र पछिल्लो समय समुद्र पारी पुगेका सुदूरपश्चिमेली पनि यो पर्वलाई उत्सवका रुपमा धुमधामका साथ मनाउन थालेका छन् । देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषयवस्तुमा आधारित प्रश्न सोध्ने गरिन्छ भने कतै व्यङ्ग्यको पनि प्रस्तुति हुने गर्छ । महेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक दर्जन बढी थलोमा देउडा खेल सुरु भएको छ ।