कञ्चनपुर, भाद्र २१
पुष्कर भट्ट
बझाङको परिचित दुःख बिर्साउने ‘बिर्षती’ मेला कञ्चनपुरमा पनि धुमधाम संग मनाईएको छ । विगतमा सुदुरपश्चिम प्रदेशको बझाङ जिल्ला स्थित थली नौबिस क्षेत्रमा मात्र धुमधामका साथ मनाईने बिर्षती पर्व केहि वर्ष यता कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ तिलाचौरमासमेत मनाईने गरीएको छ । भाद्र महिनामा मनाईने यो पर्व ३ दिनसम्म चल्ने गर्दछ भने भाद्र २० गते मुख्य दिनका रुपमा मनाउने गरिन्छ ।
धार्मिक र सांकृतिक महत्वको पर्व बिर्षती मेला सुदुरपश्चिम प्रदेश कै प्रख्यात मेला हो । यसलाई बिर्र्षती जात, बिर्र्षतीका मेला, थलिको जात (पर्व) आदि नामले पनि चिनिन्छ । देउडा पारखीहरुको प्रतिस्पर्धा हुने यो ऐतिहासिक मेलामा देउडा अन्तर्गत दोपाइल्या, तेपाइल्या देउडा खेल्ने गरिन्छ । स्थानीय भाषामा देउडालाई तिउडो भन्ने चलन छ ।
प्रत्येक बर्षको भाद्र १८ गते भीमदत्त नगरपालिका १० तिलकेनीस्थित दुर्गा भवानीको मन्दिरमा पूजा आराधना सुरु गरेपछि प्रारम्भ हुने बिर्षती मेला कञ्चनपुरको धार्मिक महत्वको पर्व हो । निरहर (पानी नखाइ) फलहर (फलफूलसमेत नखाइ) उबासुको दिन व्रत बस्ने प्रचलन छ । दिनभर दुर्गा भवानीको पुजा आराधना गरेर मनाउने गरिन्छ । बेलुकीपख चाभाइ खेल र बाठपाला देबताका फाग गाएर भारीखेल लगाएर रमाइलोका साथ रातभर भजन कृतन गर्दै मनाउने गरिन्छ ।
दुर्गा भवानीले महिसाशुर दानवलाई वध गरेको खुसियालीमा बझाङी समुदायले विरिती पर्व मनाउने चलन छ । बडा दशैका बेला दुर्गा भवानीले महिसाशुर दानवको वध गरेको किवदन्ती रहेपनी बझाङी समुदायले भने प्रत्येक वर्ष माघ १६, फागुन १६ र भाद्र २० गते दुर्गाभवानीको विशेष पुजा अर्चना गरी बिर्षती पर्व मनाउने गरिएको छ ।
माघ १६ गते महिसाशुरको छाती चिर्ने भन्दै सल्लाको काठको लाकुडी बनाएर मन्दिरको छेउमा गाड्ने चलन छ भने फागुन १६ गते महिसाशुर दानवको टाउकाको भकुण्डो खेल्ने भन्दै गोरुको छालाको भकुण्डो बनाएर खेल्ने चलन छ । सबै ठाउँबाट देवीले महिशासुर दानवबाट मुक्त गरेको खुसियालिका रुपमा हरेक वर्ष भाद्र २० गते बिर्सती पर्व मनाउने गरीएको छ ।
पर्वमा रातभर जाग्राम बसेर महिला तथा पुरुषले देउडा, ठाडिभाका लगायतका खेल खेल्ने गर्दछन । पहिले पहिले बझाङबासीले मात्रै मनाउँदै आएको यो पर्व पछिल्लो समय भने सुदुरपश्चिमका अधिकांस जिल्लाबासी मात्र नभई सिमावर्ती भारतीय गाँउबाटसमेत सहभागी भई खुसियालिका साथ मनाउने गरिएको छ । जात्रामा भगवती मन्दिरबाट निस्केको टोलीमा अगाडी अगाडी देवीरुप काम्दै जान्छन भने पछाडि पछाडि महिला र पुरुषको टोलीले भारी गाथा ‘चाभाई चाभाई‘ गाउने गर्दछन ।
पर्वको अवसर पारेर घरवाट टाढा टाढा रहेकाहरुसमेत देवीलाई पुज्न भन्दै अनिवार्य रुपमा घर पुग्ने गर्दछन । पर्वका माध्यमले आफन्त ईष्टमित्रसंग समेत भेटघाट हुने भएकाले समुदायमा यस पर्वलाई दशै तिहार भन्दा पनि महत्वका साथ लिने गरेको पाईन्छ । विशेष गरी बझाङबाट बसाईसराई गरी कञ्चनपुर पुगेकाहरुले आफ्नो पुरख्यौली थलोको सम्झनामासमेत यो पर्व मनाईने गरेका छन् ।
मेलाकाको समयमा गरिने विविध सांस्कृतिक गतिविधिहरूमा ऐतिहासिक व्यक्तित्वहरूको महिमा, चरित्र गाथाहरू व्यक्त गर्ने गरिन्छ । जुन पुस्तौँ पुस्तासम्म हस्तान्तरित हुन्छ र इतिहासले जीवन्तता पाउँछ । यस क्षेत्रको रहन सहन, भेषभुषा अनि भाषामा समानता देखाउने मेला नै बिर्सती मेला (बिर्सती जात) हो । विगतमा बझाङ जिल्ला थली नौबिसमा मात्रै मनाईने बिर्सती पछिल्लो समये कञ्चनपुर जिल्लामा पनि मनाउनाले बिर्सती पर्वको लोकप्रयताले धार्मिक सहिष्णुता, भाईचारा र परम्परागत मौलिक संस्कृतीको जगेर्ना गर्न समेत मद्दत पुगेको छ ।