किस्ताका लागि रातारात घर | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

किस्ताका लागि रातारात घर

ghar-bhukampa

रामेछाप,२ माघ । भूकम्पपीडितलाई पुस मसान्तसम्म डीपीसी गर्न दिएको समयसीमा सकिने दिन जिल्लामा सयौं घरका जग थपिएका छन् ।

दोस्रो किस्ता लिने समयसीमा थपिने आशामा घरको जग नहाली बसेका पीडितहरू राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले म्याद थपका विषयमा कुनै सूचना नदिएपछि रातारात घर बनाउन जुटेका हुन् । जिल्लाका अधिकांश स्थानमा रातारात जग थपिएपछि त्यसको नापजाँचका लागि प्राविधिकलाई समस्या परेको छ । ‘हाम्रोमा गए राति नै ३५ घरका जग बने,’ पकरबासका प्राविधिक नवराज श्रेष्ठले भने । उनले पुस मसान्तका दिन बनेका घरहरू माघ १ गते नापजाँच गरी फर्किएका छन् ।

‘अस्तिसम्मको नापजाँच सकेका थियौं एकै दिन त्यति धेरै घर बनेछन्,’ उनले भने ।गुन्सीमा पुस मसान्तमा सुरु भएको घर माघ १ गते बिहानसम्म डीपीसी हुँदै थिए । राति कामै नरोकी गुन्सीमा झन्डै २५ घरका जग तयार भएको इन्जिनियर राजकुमार अहिरले बताए । प्राविधिकहरूले पुस मसान्तभन्दापछि बनेका घर ननाप्ने बताएपछि ग्रामीण क्षेत्रमा जग खन्नेदेखि डीपीसीसम्मको काम एकै दिन भ्याउने थुप्रै पीडित भए ।
अघिल्लो दिन जग्गा तयार गर्न डोजर लाँदै गरेको देखेका प्राविधिकहरू भोलिपल्ट डीपीसी हालेको खबरले अचम्भित भएका छन् । ‘एकै रात यति धेरै काम हुने रहेछ,’ चिसापानीका इन्जिनियर तोपनारायण पौडेलले भने, ‘पहिलेदेखि यस्तो चेतावनी दिएको भए पुनर्निर्माणको काम यो बेलासम्म सम्पन्न भइसक्ने थियो ।’

जिल्लामा झन्डै २५ प्रतिशतले मात्र जग हालेको भन्दै अधिकांश घर नबनेकाले सरकारले म्याद थप्नेमा पीडितहरू आशावादी थिए । ‘अन्तिम दिनसम्म पनि म्याद थप्ला भन्ने आशा थियो,’ चिसापानीका कृष्णबहादुर श्रेष्ठले भने, ‘रेडियो र टीभीमा समाचार आउला भनेर बसियो तर नआएपछि दोब्बर ज्याला तिरेर रातभरि काम गर्‍यौं । घर निर्माणमा पश्चिमी पहाडबाट आएका डकर्मीहरूले झिपिक्क नसुतेर दोस्रो किस्ता आउने वातावरण बनाइदिए ।’

उनीजस्तै प्राधिकरणले दोस्रो किस्ता लिने समय थप्ला भनेर आशामा बसेका पीडितहरू भने अझै अन्योलमा छन् । ‘डकर्मी अभावमा चाहेर पनि घर बनाउन पाइएन,’ मन्थलीका शमशेर माझी भन्छन्, ‘अझै पनि थपिएला भन्ने आशामा छौं । म्याद थपिएन भने हाम्रो बास कटेरामै हो ।’ जिल्लामा काठ र पानी अभावले घर निर्माण गर्न नसकेका परिवार पनि उत्तिकै छन् । जिल्लाका दक्षिणी भेगका बासिन्दालाई खानेपानी जुटाउनै धौधौ छ ।

जिल्लामा भूकम्पबाट आवास भत्केका ४३ हजारमध्ये ४१ हजार ३८६ जनाले पहिलो किस्ता लिएका थिए । तीमध्ये पुस मसान्तसम्म दोस्रो किस्ता लिनेको संख्या १२ हजार ६ सय ७४ मात्र छ । केही प्रक्रियामै छन् ।

प्राधिकरण रामेछापका प्रमुख ऋषिराज आचार्यले दोस्रो किस्ता भुक्तानी लिने जत्तिकै संख्याले तोकिएको मितिमा जग हालेका छन् । निवेदन दिएर प्रक्रियामा छिरेका, प्राविधिकले निरीक्षण गरी जिल्लामा बुझाइएका र अन्तिम साता निरीक्षण गरेका घरको संख्या करिब १० हजारभन्दा बढी रहेको उनको अनुमान छ । ‘प्राविधिकबाट निरीक्षण प्रतिवेदन बुझाएपछि त्यसको यकिन संख्या आउला,’ उनले भने, ‘अहिलेसम्म दोस्रो किस्ता लिनेभन्दा घर तयार गर्ने कमी छैनन् भन्ने हाम्रो अनुमान छ ।’ जिल्लाभर पुस मसान्तसम्म २ हजार ७ सय २५ जनाले तेस्रो किस्ता लिइसकेका छन् ।

तेस्रो किस्ता लिन निरीक्षण गराइसक्नेको संख्या पनि झन्डै २ हजारको हाराहारीमा रहेको उनले बताए । प्राधिकरणले पुस मसान्तसम्म डीपीसी हालेर दोस्रो किस्ता लिएका घरलाई २०७५ असार मसान्तसम्म तेस्रो किस्ता लिने गरी सम्पन्न गर्नुपर्ने सर्त राखेको छ ।आजको कान्तिपुरमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);