तीन तलाको अनुमति लिएर १० तलाको भवन : उपराष्ट्रपतिद्वारा होटेल उद्घाटन पोखरा महानगरपालिकाद्वारा बहिष्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तीन तलाको अनुमति लिएर १० तलाको भवन : उपराष्ट्रपतिद्वारा होटेल उद्घाटन पोखरा महानगरपालिकाद्वारा बहिष्कार

nanda pun

पोखरा, ३ माघ । मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार उद्घाटन गरेका हुन् । साढे तीनतले भवन निर्माणका लागि पोखरा महानगरपालिकाबाट अनुमति लिए पनि धरधनी मीन गुरुङले १० तलाको बनाएका छन् ।

सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ पनि सहभागी थिए । भवन उद्घाटनमा सहभागी हुन मेयर मानबहादुर जिसीसहित पदाधिकारीलाई निमन्त्रणा गरिए पनि मापदण्डविपरीत बनेको संरचनामा सञ्चालित होटेल भन्दै महानगरको तर्फबाट कोही पनि उपस्थित भएनन् । घरधनी एवं होटेल सञ्चालक मीन गुरुङका अनुसार भूकम्प गएको दिन १२ वैशाख ०७२ मा घर निर्माणको जग हालिएको हो ।

महानगरले साढे तीन तलाको नक्सा पास गरेको र सोहीअनुसार निर्माण सम्पन्न प्रमाणपत्र लिएको उनले जानकारी दिए । साढे तीन तलाको सम्पन्न प्रमाणपत्र लिएपछि अरू तला थप्दै रुफटपसहित १० तलाको भवन बनाएको उनले बताए । ‘मेरो मात्र होइन, पोखराको लेकसाइडमा यसरी धेरै घर बनेका छन्,’ उनले भने । होटेल सञ्चालक गुरुङका अनुसार १८ करोडमा निर्माण गरिएको १० तले सुविधासम्पन्न होटेलमा ३२ कोठा, एक अपार्टमेन्ट र तीन सेमिनार हल छन् ।

उपराष्ट्रपतिको कदमले नियम मिच्नेलाई सहयोग : महानगर
पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले राष्ट्रका विशिष्ट व्यक्तिको यस्ता कदमले नीति–नियम मिच्चेलाई सहयोग पुग्ने बताए । राज्यबाट स्वीकृति नलिई बनेका अवैध संरचना उद्घाटन गर्न देशका विशिष्ट व्यक्ति सहभागी हुनु राम्रो नभएको उनको भनाइ छ । नियम मिच्नेलाई सहयोग एवं प्रश्रय दिएजस्तो भएको उनले बताए । यस्ता कार्यक्रममा सहभागी हुनुअघि भिआइपीले आफू सहभागी हुने कार्यक्रमबारे ख्याल गर्नुपर्ने उनको सुझाब थियो । महानगरले हाल बढीमा साढे तीन तला भवन निर्माणको मात्र नक्सा पास गर्ने गरेको उनले बताए ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);