काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देश यही अवस्थामा रहिरहे २०८४ को चुनाव नआउने टिप्पणी गर्नुभएको छ ।
शुक्रवार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सरकार यसरी नै चलिरहने हो भने २०८४ सालको निर्वाचन नआउने दाबी गर्नुभएको हो ।
उहाँले सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा मन्त्रीपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धानको आदेश दिएपनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको बताउनु भयो । उहाँले सरकारलाई भ्रममा राखेर अहिले सरकारले ठूला भ्रष्टाचार बिरुद्धका काकम गरेँ भनेर दंगा पिटेको बताउनु भयो ।
उहाँले ललिता निवास जग्गा प्रकरणबारे अनुसन्धान गर्न बाध्य बनाएका प्रहरी अधिकृतहरुलाई घटना सामसुम बनाउन सरकारले सरुवा गर्न लागेको बताउनु भयो । उहाँले नेपाल आज शक्ति देशको प्रतिष्पर्धा स्थल बनिरहेको बताउनु भयो । उहाँले सरकार एकातिर भ्रष्टाचारबिरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सरकार टिकाउने काममा लागेको बताउनु भयो ।
अध्यक्ष लिङदेनले सरकार देशमा अकण्टक लुट मच्चाउने योजना बनाइरहेको बताउनु भयो ।




