राजस्वको लक्ष्य पूरा हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

राजस्वको लक्ष्य पूरा हुने

काठमाडौं, ३० पुष । राजस्व संकलनको लक्ष्य पुस मसान्तसम्म पूरा हुने भएको छ। शनिबारसम्म तीन खर्ब १८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयले चालू आवको पुस मसान्तसम्म तीन खर्ब ३४ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ।

लक्ष्यअनुसार राजस्व संकलन हुन आईतबार १६ अर्ब रुपैयाँ संकलन हुनुपर्ने देखिन्छ। अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना पुस मसान्तसम्मको राजस्व लक्ष्य पूरा हुने बताए। उनले भने, ‘आइतबार सबैभन्दा बढी राजस्व संकलन हुन्छ। आइतबार भन्सार पनि एक अर्बको हाराहारीमा संकलन हुन्छ। केही गैरकर राजस्व पनि संकलन हुन्छ। सबै जोड्दा हाम्रो लक्ष्य पूरा हुन्छ।’

२७ गते पछिका दुई दिनमा सरकारले २१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। २९ गते शनिबार भए पनि बैंक खुला भएका कारण दुई दिनमा सोचेभन्दा बढी राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ। शुक्रबार र शनिबार औसतमा संकलन भएको ११ अर्ब बढेर १६ अर्बभन्दा माथि पुग्ने अनुमान अर्थका अधिकारीको छ। चालू आवमा लाग्ने अनुमानित करको विवरण र त्यसअनुसार लाग्ने आयकरको पहिलो किस्ता तिर्ने अन्तिम दिन नजिकिँदै जाँदा सरकारले शनिबार बैंक खोलेर करदातालाई सहज बनाउने प्रयास गरेको थियो। यसका अलावा पुस मसान्तमा गत आवको आयविवरण र त्यसअनुसार लाग्ने कर दाखिला पनि गरिन्छ।

सरकारले बैंक मात्र होइन राजस्व बापत प्राप्त हुने चेक क्लियरिङको व्यवस्था समेत गरेको थियो। सामान्य अवस्थामा शुक्रबार समेत नहुने क्लियरिङको काम सरकारले शनिबार गरेर कर दातालाई थप सुविधा दिएको हो। अर्थ मन्त्रालयले १ असोजमा महिनाको अन्तिम दिन बिदा परे पनि बैक खोल्नुपर्ने निर्णय गरेको थियो।

आन्तरिक राजस्व विभागले पुस मसान्तसम्म एक खर्ब ३६ अर्ब रुपैयाँ कर संकलन गर्ने लक्ष्य पाएको थियो। शनिबारसम्म एक खर्ब १४ अर्ब रुपैयाँ संकलन भइसकेको छ। विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेल आइतबारसम्म लक्ष्य पूरा हुने बताए। उनले भने, ‘सबैभन्दा बढी कर पुस मसान्तमा संकलन हुन्छ। आइतबार संकलनले हाम्रो लक्ष्य पूरा हुन्छ। अहिलेसम्मको संकलनले राम्रो सम्भावना देखाएको छ।’

विभागले २२ अर्ब रुपैयाँ आइतबार संकलन गरेर लक्ष्य पूरा गर्न सक्ने हो भने अर्थ मन्त्रालयको लक्ष्य स्वतः पूरा हुने देखिन्छ। अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यभन्दा विभागले ६ अर्बभन्दा बढी कर संकलन गर्नुपर्ने देखिन्छ। यसले गर्दा अर्थ मन्त्रालये चालू आवको पहिलो छ महिनामा निर्धारण गरेको लक्ष्यभन्दा बढी राजस्व संकलन हुने देखिन्छ।

पुस महिनाको पछिल्ला १० दिनमा राजस्व संकलन हरेक दिन अर्बभन्दा माथि छ। २० पुसमा दुई अर्ब ५५ करोड राजस्व संकलन भएको थियो। त्यसपछि २५ पुससम्म दुई अर्बभन्दा माथि राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। २५ पुसमा पाच अर्ब ९७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। हरेक महिनाको २५ गते अघिल्लो महिनाको मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउनुपर्ने कानुनी व्यवस्था भएकाले राजस्व संकलन उच्च हुँदै आएको छ।

२५ पुसपछि २६ पुसमा १४ करोडमा झरेको राजस्व संकलन त्यसपछि ह्वात्तै बढेको छ। राजस्व संकलन उल्लेख्य मात्रामा भए पनि चालू आवमा सरकारले खर्च बढाउन सकेको छैन। अहिलेसम्म चालू आवको बजेटको ३१ प्रतिशत मात्र खर्च भएको छ। पुँजीगत खर्च भने १४ प्रतिशतको हाराहारीमा खुम्चिएको छ। कोट ‘आइतबार सबैभन्दा बढी राजस्व संकलन हुन्छ। केही गैरकर राजस्व पनि संकलन हुन्छ। सबै जोड्दा हाम्रो लक्ष्य पूरा हुन्छ।’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);