काठमाडौं, १० साउन । राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानका १२ जना कर्मचारीको नियुक्ति खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।
संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीसहित १२ जनाको नियुक्ति प्रक्रिया विधि विपरित भएको भन्दै खारेज गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
सुवेदी नियुक्ति भएपछि उनले २ उपसम्पादक,७ समाचारदाता,१ परामर्शदाता र २ वरिष्ठ सहायक पदमा नियुक्त गरेका थिए । सोही नियुक्ति प्रक्रिया मिचिएको केन्द्रको दाबी छ ।
अध्यक्षसहितको नियुक्ति गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त विनियमावली २०५२ को विनियम ४१ बमोजिम पदपूर्ति समितिको सिफारिसको आधारमा उपयुक्त व्यक्तिलाई गर्नुपर्ने तर पदपूर्ति समितिको गठन एवं सिफारिस विना नै उक्त विनियमावलीको प्रक्रिया पालना नगरी टिप्पणी आदेशको भरमा नियुक्ति गरिएको सतर्कता केन्द्रको ठहर छ ।





