काठमाडौं, २८ पुष । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी नौ मन्त्री र सात राज्यमन्त्री फिर्ता भएका छन् । विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेलले पार्टीले फिर्ता बोलाएको पत्र प्रधानमन्त्रीसामु पेश गरेका छन् ।
पार्टीको निर्णयमा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्री सरकारबाट फिर्ता भएका हुन् । विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पार्टीले फिर्ता बोलाएको पत्र बुझाएका छन् ।
नेता कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले गिरिराजमणि पोख्रेलको नेतृत्वमा माओबादी मन्त्रीहरुले पार्टीको तर्फबाट राजिनामा पत्र प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाएका हुन् ।
माओवादी केन्द्रका तर्फबाट सरकारमा ९ मन्त्री र ७ राज्यमन्त्री सहभागी थिए । माओवादीले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरी पार्टी एकताको निर्णय गरेपछि प्रधानमन्त्री देउवाले तीन महिना पहिले माओवादीका मन्त्रीलाई जिम्मेवारीमुक्त गरी विनाविभागीयको हैसियतमा राखेका थिए।