सुनदह सहकारीका पदाधिकारी कारागार चलान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सुनदह सहकारीका पदाधिकारी कारागार चलान

उर्लाबारी, असार २७ गते । पथरीशनिश्चरे–६ स्थित सुनदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष, व्यवस्थापक र लेखा सहायक मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका छन्।
सेयर सदस्य तारा खड्कासहित ९८ जना बचतकर्ताले दायर गरेको मुद्दामा मोरङ जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएपछि कारागार चलान गरिएको हो। सहकारीका पदाधिकारी तथा कर्मचारीले ७४ लाख १९ हजार ८०७ रुपियाँ रकम हिनामिना गरी सहकारी संस्था बन्द गरेको आरोपसहित मुद्दा दायर गरिएको थियो।

मुद्दाको प्रारम्भिक सुनुवाइका क्रममा अदालतले सहकारीका व्यवस्थापक ४४ वर्षीय व्यवस्थापक राजेन्द्र तामाङ, ४६ वर्षीय लेखा सहायक विश्वनाथ चौधरी र संस्थाका अध्यक्ष ४५ वर्षीय लालबहादुर भण्डारीलाई पुर्पक्षका लागि कारागार पठाएको हो। संस्थाका व्यवस्थापक तामाङको घरमा २०७६ साल माघदेखि मासिक १५ हजार रुपियाँ भाडा तिर्ने सर्तमा सहकारी बस्दै आएको थियो। भाडा बसेयता सहकारीले भाडा नतिरेको बताउँदै तामाङका श्रीमती जानुका तामाङले भन्नुभयो, “चार वर्षदेखिको भाडा पाएको छैन, श्रीमान्लाई पनि फसाइदिए।”

खुलेन ताला

यसैबीच उत्तरी मोरङको मिक्लाजुङ–३, टाँढी स्थित चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा लागेको ताला ११ दिन बितिसक्दा पनि खुलेको छैन। गत पुस २२ गते सहकारी संस्थाको सेफ (भल्ट) फोरेर चोरले ३८ लाख रुपियाँ लगेपछि प्रहरीले अनुसन्धानका लागि संस्थाकी कर्मचारी मेनुका शिवालाई पक्राउ गरेको थियो। ४३ दिनपछि पाँच लाख रुपियाँ धरौटी तिरेर मेनुका घर फर्किनुभएको थियो तर सञ्चालकहरूले धरौटी कमी भएको भन्दै पुनः उच्च अदालतमा मुद्दा दर्ता गराएका थिए। उच्च अदालत विराटनगरले थप आठ लाख रुपियाँ धरौटी तोकेपछि मेनुका कै समूहले गत असार १५ गते कार्यालयमा ताला लगाएको संस्थाका अध्यक्ष मीना कार्कीले बताउनुभयो।

आव २०७८÷७९ को लेखा परीक्षण रिपोर्टमा नै कर्मचारी शिवाको जिम्मामा २९ लाख ५५ हजार १०७ रुपियाँ ६७ पैसा देखिएको थियो। २९ लाखभन्दा बढी नगद मौज्दात व्यवस्थापकको जिम्मामा रहँदा बैङ्कमा भने ४५ हजार ५६४ रुपियाँ मात्र देखिएको थियो। संस्थाका अध्यक्ष कार्कीका अनुसार नगद मौज्दातमा देखिएको उक्त रकम शिवाले २०७९ को पुस मसान्तसम्ममा जायजेथा बिक्री गरी तिर्ने सहमति भएको थियो।

शिवाको भाकाभन्दा एक साताअघि नै संस्थाको भल्ट फोरेर चोरले नगद लगेपछि उहाँमाथि थप आशङ्का बढेको सञ्चालक बताउँछन्। अघिल्लो आव २०७७÷७८ मा ३९ लाख २६ हजार २४५ रुपियाँ १६ पैसा नगद मौज्दात थियो। उक्त रकम पनि शिवाकै जिम्मामा थियो। नजिकै बैङ्क नभएकोले पैसा व्यवस्थापकलाई जिम्मा दिनुपरेको अध्यक्ष मीना कार्की बताउनुहुन्छ।

दुई करोड २४ लाख ९० हजार ७७५ रुपियाँ बचत निक्षेप र दुई करोड ५५ लाख ३२ हजार ९३ रुपियाँ ऋण लगानी गरेको सहकारी संस्थामा ९८४ जना महिला बचतकर्ता छन्। संस्थाकी कर्मचारी मेनुका शिवा भने आफूलाई कमजोर र गरिब भएका कारण सञ्चालकहरूले फसाएको बताउनुहुन्छ। उहाँले भन्नुभयो, “यत्रो पैसा हिनामिना गरेर कहाँ लानु।”
गोरखापत्रबाट

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);