काठमाडौं, २७ पुष । वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् । विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो ।
अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् । टोकनअनुसार कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्ने भन्ने कुरा सिस्टमले नै जानकारी दिने विभागले जनाएको छ । यो सिस्टम लागू भएपछि श्रम ग्राममा व्यक्तिगत श्रम स्वीकृति लिनेको भीड घट्ने विश्वास गरिएको छ ।
त्यसैगरी दलालका आडमा अनियमित रुपमा हुने सेटिङ पनि कम हुने अपेक्षा सरकारको छ । अहिले श्रमग्राममा दैनिक रुपमा सेवाग्राहीको ठूलो भीड लाग्ने गरेको छ । व्यक्तिगत श्रम स्वीकृति पाउन काठमाडौंमा मात्रै सेवा केन्द्रित गरिएको छ । त्यसैका कारण ताहचल कार्यालयका कर्मचारीहरुले सेवाग्राहकीसंग अतिरिक्त रकम लिएर काम गर्ने क्रम रोकिएको छैन ।




