काठमाडाैं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।
अध्यक्ष ओली आज थाई एयरवेजबाट बैंकक प्रस्थान गरेका हुन् । अध्यक्ष ओलीले बैंककमा रहेको वुङरुगाड अस्पतालमा उपचार गराउने छन् । ओलीका साथमा श्रीमती राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सककाे टाेली समेत साथमा गएकाे छ ।
मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उनी बैंकक जाने गरेका छन् । चुनाव अघि नै स्वास्थ्य परीक्षण गराउनुपर्ने चिकित्सकको सल्लाह भए पनि चुनावको व्यस्तताले उनले स्वास्थ्य परीक्षण गराएका थिएन । ओली माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको एमाले सचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।