उपराष्ट्रपतिको सल्लाहकार एउटा मात्र राखिदिउँ : सांसद कार्की | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८१, बिहीबार

उपराष्ट्रपतिको सल्लाहकार एउटा मात्र राखिदिउँ : सांसद कार्की

काठमाडौं, १० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोसन कार्कीले उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरेर लम्पिस्किन महामारीको मारमा परेका किसानहरुलाई अनुदानको रुपमा दिन आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद कार्कीले उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गर्न माग गर्नुभएको हो । उहाँले प्रशासनिक खर्च कटौती गरेर लम्पिस्किनको महामारीबाट प्रभावित किसानहरुलाई अनुदानको रुपमा दिनुपर्ने बताउनु भयो । उहाँले उपराष्ट्रपतिको प्रभावकारी भुमिका हुन नसकेको बताउनु भयो । उपराष्ट्रपतिको काम उद्घाटन गर्ने र देवताको दर्शन गर्ने मात्रै भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले सोच्नुपर्ने दिन आएको छ, अब हामीहरुले यो बजेटलाई संशोधनसहित पास हुने व्यवस्था यहाँ लागु हुनुपर्छ । नत्रभने हामी नाटकका पात्र मात्र हुनेछौँ । यहाँ आयो बोल्यो । जनतालाई छक्याउने काम मात्र हुनेछ । उपराष्ट्रपति महिला हुनुपर्ने ठाउँमा संविधानको ‘वा’ भन्ने शब्दले पुरुष बनाइदियो । यो महिलाहरुको लागि बिडम्बना भयो । उपराष्ट्रपतिलाई सल्लाहकार प्रशस्त चाहिने, बजेट प्रशस्त चाहिने, त्यो बजेट के का लागि ? उपराष्ट्रपतिको भुमिका के हो ? उहाँले यो देशको लागि के गर्नुहुन्छ ? खालि रिबन काट्ने, केही चिजहरुमा उद्घाटन गर्ने र कहिलेकाही देवताको दर्शन गर्न जाने । त्यो बाहेक उहाँको भुमिका नै केही छैन । हामीले यत्रो बजेट किन उहाँको लागि खर्च गर्ने ? जबकी आज यो देशमा अनुुदान कम आएको छ । राजस्व कम उठिराखेको छ । कर्मचारीहरु तलव खान नपाउने स्थिति छ । यस्तो स्थितिमा हामीले उपराष्ट्रपतिलाई यत्रो खर्च गर्नु आवश्यक छैन । उपपराष्ट्रपतिको प्रशासनिक खर्चमा कटौती गरौँ । सल्लाहकार एउटा मात्र राखिदिउँ । र त्यो खर्च बरु लम्पिस्किन महामारीबाट पीडित किसानहरुलाई अनुदानका रुपमा दिउँ म यो अनुरोध गर्न चाहन्छु ।’

उहाँले बजेट संशोधनसहित पास गर्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);