उखरमाउलो गर्मी अझै लम्बिने संकेत | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८१, मंगलबार

उखरमाउलो गर्मी अझै लम्बिने संकेत

काठमाडौं । कोशीदेखि गण्डकीसम्म चारवटा प्रदेशमा गत जेठ ३१ गते नै प्रवेश गरेको मनसुन त्यसभन्दा अघि पश्चिमतर्फ अझै बढ्न सकेको छैन ।

जसका कारण मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मी हुने क्रम यथावत् रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार २÷३ दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुनी गतिविधि (बादल र वर्षा) सुरु हुने सम्भावना छैन ।

यसैकारण २ हप्ताभन्दा बढी समयदेखि लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा जारी उखरमाउलो गर्मी अझै लम्बिने देखिएको छ । शनिबार सुदूरपश्चिमको तराईमा भने भारतको गुजरातस्थित सौराष्ट्रमा रहेको चक्रवात (बिपरजोय) र पश्चिमी वायुको प्रभावले अलिअलि बदलीको सम्भावना देखिए पनि तापक्रम नै घटाउनेगरी सहयोग नपुग्ने मौसमविद्को भनाइ छ । लुम्बिनीको तराईमा भने शनिबार पनि बदलीको कुनै सम्भावना छैन । त्यही चक्रवात र पश्चिमी वायुको दबाबले पूर्वबाट प्रवेश गर्ने मनसुन अगाडि बढ्न नसकेको मौसमविद्ले जनाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार केही दिनदेखि देशका मध्य तथा पश्चिमी तराईका भूभागमा अधिकतम तथा न्यूनतम तापक्रम लगातार वृद्धि भइरहेको देखिन्छ । उक्त भूभागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी हुने क्रम रोकिएको छैन । महाशाखाले चेतावनी तथा परामर्श जारी गर्दै बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, नवलपरासी जिल्लामा अत्यधिक गर्मीको सम्भावना अझै रहने हुनाले आवश्यक तयारी गर्न आग्रह गरेको छ । त्यसैगरी कञ्चनपुर, कैलाली, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी जिल्लामा थोरै तापक्रम घटे तापनि गर्मीको सम्भावना यथावत् रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । ती क्षेत्रमा असार ३ गतेसम्म तातो हावा चल्ने सम्भावना यथावत् रहेको महाशाखाको भनाइ छ । मनसुनी प्रणालीको प्रभाव रहेका कोशी प्रदेश, मधेशको पूर्वी भूभाग, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकीको पूर्वी भूभागमा भने बदली र वर्षाको सम्भावना रहेकाले तापक्रम घट्न सक्ने देखिएको मौसमविद्को भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);