काठमाडौं । नेपालले आइसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम अभ्यास खेलमा ओमानमाथि जित निकालेको छ ।
जिम्बावेको हरारेमा बिहीबार भएको खेलमा ओमान नेपालसँग २ विकेटले पराजित भएको हो ।
ओमानले दिएको २ सय ६८ रनको लक्ष्य नेपालले ४४ दशमलब ५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका कुशल भुर्तेल ९४ बलमा सर्वाधिक १ सय १ रनको शानदार ईनिङ खेले । भीम सार्की ७४ बलमा ५६ रनको योगदान दिए । साथै, आसिफ शेख २३ रन जोडे ।
कप्तान रोहितकुमार पौडेलले २८ बलमा ३१ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २६ रन बनाए ।
ओमानका लागि अकिब ईलियासले ४ तथा फैयाज बटले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ दशमलब २ ओभरमा अलआउट हुदै २ सय ६७ रन बनायो ।
ओमानका लागि कप्तान जिशान मकसुदले १ सय ६ बलमा १ सय ९ रनको शतकीय ईनिङ खेले ।
नेपालका लागि सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी, प्रतिश जि।सीले समान १÷१ विकेट आफ्नो नाम गरे ।
विश्वकप छनोटको पहिलो खेलमा नेपालले आईतबार घरेलु टोली जिम्बावेसँग खेल्नेछ ।