काठमाडौं, २५ पुष । उदयपुरको सदरमुकाम गाईघाटमा १ नं प्रदेश स्तरीय प्रथम उदयपुर घरेलु औद्योगिक महोत्सव सुरु भएको छ । महोत्सवमा प्रदेश नं १ का १४ जिल्लाका विभिन्न घरेलु उद्यमीहरु आफ्ना व्यापार प्रवद्र्धनका लागि सहभागी भएका छन् । ९ दिनसम्म संचालन हुने महोत्सवमा सोलुखुम्बुको राडीपाखी, ओखलढुंगाको ढाका कपडा, उदयपुरको जमराको जुस, थारु समुदायका विभिन्न परिकार, उदयपुरका दुई किशोरले तयार गरेका स्क्याभेटरलगायत विशेष आकर्षण छन् ।
उद्योगहरुको अवस्था बुझेर सरकारले सुधार गरोस् र उत्पादनमा थप टेवा पु¥याउने उद्धेश्यले महोत्सव आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरले जनाएको छ ।
उदयपुरमा मात्रै सिलाइकटाई, व्यूटिशियन, च्याउ खेती, अगरबत्ती, दालमोठ भुजिया, बाँसका सामान, मादल निर्माण, बंगुरपालनलगायतका दर्जनौं साना उद्योगहरुबाट ४ हजार भन्दा बढीले रोजगारी प्राप्त गरिरहेका छन् ।
ग्रामीण अर्थतन्त्रको मुख्य आकर्षणका रुपमा देखिएका यस्ता उद्योगहरुमा राज्यका आँखा पर्न सके मुलुक थप आर्थिक स्वावलम्बनतर्फ उन्मुख हुने आयोजकको भनाई छ ।




