नक्कली शरणार्थी प्रकरणः प्रमाण नजुटेका व्यक्तिलाई पछि अभियोग लगाईने गरि अभियोगपत्र तयार हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नक्कली शरणार्थी प्रकरणः प्रमाण नजुटेका व्यक्तिलाई पछि अभियोग लगाईने गरि अभियोगपत्र तयार हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १६ जना व्यक्ति पक्राउ परिसकेका छन् । उनीहरुले वयानका क्रममा कतिपय उच्चपदस्थ व्यक्तिको नाम उल्लेख गरे पनि ती व्यक्तिविरुद्ध यथेष्ट प्रमाण नजुटेकाले प्रहरीले पक्राउ गर्न सकेको छैन । त्यसैले हाल प्रमाण नजुटेका व्यक्तिलाई पछि अभियोग लगाउन मिल्ने गरी अभियोगपत्र दायर गरिने सरकारी वलिकलको कार्यालयको भनाइ छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका तर हाल उनीहरूविरुद्ध प्रमाण नजुटेका व्यक्तिलाई पछि अभियोग लगाउन मिल्नेगरी अभियोगपत्र दायर गर्ने तयारी भएको उक्त मामिलाको अनुसन्धान र अभियोजनमा संलग्न अधिकारीहरूले बताएका छन् । उनीहरूका भनाइमा थप संलग्नहरू खुल्न आएमा अहिलेकै अवस्थामा मुद्दा नटुङ्गिनेगरी अदालतमा अभियोगपत्र दायर गरिने छ । उक्त प्रकरणमा अहिलेसम्म एक भूतपूर्व उपप्रधानमन्त्री, एक पूर्वगृहमन्त्री तथा एक बहालवाला सचिवसहित १६ जना पक्राउ परिसकेका छन् । उनीहरूविरुद्ध मुख्य रूपमा ठगी र सङ्गठित अपराधमा मुद्दा चलाउने तयारी गरिएको अधिकारीहरूले बताएका छन् । त्यसबाहेक उक्त प्रकरण आकर्षित हुने अन्य थप अभियोगहरू पनि लगाइने र अख्तियार दुरुपयोग तथा सम्पत्ति शुद्धीकरणका मामिलामा सम्बन्धित निकायलाई कारबाही अघि बढाउन लेखेर पठाउन सकिने प्रहरीले बताएको छ ।

उक्त प्रकरणको अनुसन्धान गरिरहेको काठमाण्डू प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आरोप लागेका व्यक्तिहरूको बयान लिने तथा अनुसन्धान गर्ने कार्य अन्तिम चरणमा रहेको छ । सङ्गठित अपराध निवारण ऐनअनुसार त्यस्ता कसुरको आरोप लागेका व्यक्तिलाई अदालतको अनुमतिमा पटकपटक गरेर ६० दिनसम्म हिरासतमा राख्न पाइन्छ । यो प्रकरणमा ‘गिरोहका सञ्चालक’ भनिएका केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङलाई प्रहरीले गत चैत १२ गते पक्राउ गरेको थियो । त्यस आधारमा आगामी मङ्गलवारसम्ममा अदालतमा अभियोगपत्र पेस गरिसक्नुपर्ने जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूले जनाएको छ ।

सरकारी वलिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले उक्त प्रकरणमा नाम जोडिएका तर अहिले प्रमाण नभेटिएका व्यक्तिबारे प्रमाण भेटिए उनीहरूलाई मुद्दा चलाउन मिल्नेगरी अभियोगपत्र तयार पारिने जानकारी दिनुभयो । थप दाबी लिन सकिने व्यवस्था ऐनले नै गरेकाले सोही दफा उद्धृत गरेर थप संलग्नहरू खुल्न आएमा अहिलेकै अवस्थामा मुद्दा नटुङ्गिनेगरी अघि बढाउने उहाँको भनाइ छ । काठमाण्डू प्रहरी परिसरका प्रवक्ता रिजालले पनि अनुसन्धानका क्रममा आरोप लागेकाहरूले लिएका थप नामहरूबारे पनि अनुसन्धान हुने र प्रमाण भेटिए कानुनअनुसार अभियोगको प्रक्रिया अघि बढ्ने बताउनुहुन्छ । पक्राउ परेकाहरूले बयानका क्रममा अन्य कैयौँ मानिसको नाम पनि लिएको विवरणहरू आएका छन् ।

त्यसरी नाम मुछिएकामा उच्चपदस्थ व्यक्तिहरू पनि छन् । प्रहरीले उनीहरूलाई सोधपुछ नगरीकनै अनुसन्धान प्रतिवेदन बुझाउन लागेको बुझिएको छ । कतिपयले त्यसरी नाम मुछिएकाहरूको पनि अनुसन्धान हुनुपर्ने माग गरेका छन् । अधिकारीहरू भने आगामी अनुसन्धानबाट थप व्यक्तिमाथि मुद्दा चलाउनुपर्ने देखिए त्यसो गर्न मिल्नेगरी अभियोगपत्र दायर हुने बताउँछन् । कानुनमा नै त्यस्तो व्यवस्था भएकाले कोही पनि उम्कन नपाउने उनीहरूको भनाइ छ । सङ्गठित अपराध निवारण ऐन र मुलुकी कार्यविधि फौजदारी संहिताले ‘थप अभियोग लगाउन सकिने’ व्यवस्था गरेको जानकारहरू बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);