हाम्रो यथास्थितिवादी व्यवहार भयो भनेर टिप्पणी आउने गरेको छ : गृहमन्त्री श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

हाम्रो यथास्थितिवादी व्यवहार भयो भनेर टिप्पणी आउने गरेको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २९ वैशाख । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले गर्न निर्देशन दिनुभएको छ । शुक्रवार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिनुभएको हो ।

पूर्वतयारीमा यथास्थितिवादी सोच र व्यवहार भएको भन्ने टिप्पणी आउने गरेको भन्दै उहाँले आगामी दिनमा कुनैपनि कमी हुन दिनु नहुने बताउनु भयो । उहाँले असावधानिका कारण, अकर्मण्यताका कारण वा निर्णय कार्यान्वयन गर्न नसकेका कारण पुरानै अवस्था दोहोरिएको आफूले सुन्न र हेर्न नपरोस् भनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘सधैँ हाम्रो यथास्थितिवादी सोच र व्यवहार भयो भनेर टिप्पणी आउने गरेको छ । यद्यपी हामीले कानून, संरचनामा केही परिवर्तनहरु गरेका छौँ । तर त्यसले सकारात्मक दिशातिर अगाडी बढाएको छ । तरपनि पूर्वतयारीको कुरामा कमी भयो भन्ने कुरालाई गहिरो आत्मसात् गर्नु जरुरी छ । तयारीलाई व्यवस्थित ढंगले, प्रभावकारी ढंगले अगाडी बढाउनुपर्ने आवश्यकता छ । त्यसमा सम्बन्धित प्राधिकरण र सम्बन्धित अरु सबै निकायहरुले पनि राम्रोसँग ध्यान दिन म विशेष अनुरोध गर्न चाहन्छु । फेरि गर्नसक्ने तयारी पनि हाम्रो असावधानिका कारणले, समयमा निर्णय नगरेर अकर्मण्य बस्नाका कारणले वा निर्णयहरुलाई ठिक ढंगले कार्यान्वयन गर्ने प्रक्रियामा नलगेको कारणले उस्तै हो फेरि भन्नेकुरा हेर्न, सुन्न नपरोस् । म यसमा विशेष जोड दिन चाहन्छु ।’

सिंहदरबारमा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले डोटी, बाजुरा, लमजुङ, खोटाङ र भोजपुर केन्द्रबिन्दु भइ भूकम्पबाट क्षतिग्रस्त घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । साथै आसन्न मनसुन पूर्वतयारी तथा प्रतिकार्यको ठोस कार्ययोजना आगामी बैठकमा बनाउने पनि निर्णय भएको छ । बैठकमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले हिउँदमा शितलहर तथा वर्षा याममा बाढी, पहिरो आउने कुरा निश्चितजस्तै भएकाले विपद्का लागि प्रभावकारी पूर्वतयारी हुनुपर्ने बताउनु भयो । उहाँले नेपालको मौसम पूर्वानुमानको विषय पनि विश्वसनीय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विपद् जोखिमको नाममा आर्थिक अनियमितता नगर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो –‘कर्मचारी साथीहरु जो कयौँ अनियमितताको कुरा जोडिन्छ । यि कुरामा सचेत हुनुपर्छ । जोखिमको नाममा दिने अनि यता दायाँबायाँ गर्ने बाहिर नआओस् ।’ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगलागि नियन्त्रणका लागि दह्रो कदम चाल्न आवश्यक रहेको बताउनु भयो । उहाँले वन, जङ्गलमा आगो लगाउनेहरुलाई कडा कारबाही गर्ने कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘वनमा आगलागीको असर धेरै ठूलो देखिएको हुनाले यसलाई हामीले कुनै एउटा कानून, नियम नै बनाएर अलि कडा कारबाही गर्ने हिसावले जानुपर्ने हो कि ? सामान्य कारबाही त अहिले भएकै विद्यमान कानूनहरुमै छन् । वन उपभोक्ता समितिले आगलागीका कुरा हेर्नुपर्ने यदी बेलाबखत यो हेरिएन भने उनीहरुको अधिकार कटौति गर्छौं भन्नेकुरा सरकारले गर्ने भन्ने भयो वन उपभोक्ता समिति ५० प्रतिशत यसलाई रेखदेख गर्न तयार हुन्छ । एउटा हेरालु उसले राख्न पनि सक्छ ।’ उहाँले वन संरक्षणको जिम्मेवारी उपभोक्ता समितिहरुलाई दिइनुपर्ने र समितिले संरक्षणमा ध्यान नदिएमा उनीहरुको अधिकार कटौति गर्नुपर्ने बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);