टोपबहादुर रायमाझीको बचाउँमा ओली,पक्राउ परेका खाँणलाई कांग्रेसको संरक्षण किन ? | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

टोपबहादुर रायमाझीको बचाउँमा ओली,पक्राउ परेका खाँणलाई कांग्रेसको संरक्षण किन ?

काठमाडौं, २९ वैशाख। सरकारमा हुँदा भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको कुरा गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली अहिले भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी बचाउमा निरन्तर लाग्नुभएको छ । पार्टीले रायमाझीलाई निलम्बन गरे पनि अध्यक्ष ओलीले भने रायमाझीको पक्षमा वकालत गर्दैै हिँड्ने क्रम छोड्नुभएको छैन ।

नेपाली नागरिकलाई भुटानी शरणार्थीको नक्कली कागजात बनाई कराडौं रुपियाँ घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका रायमाझीका पक्षमा ओलीले बिहीबार पनि बोल्नुभएको हो ।

यस अघि पनि उहाँले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर रायमाझी बचाउने विषयमा चासो राख्नुभएको थियो । रायमाझीको बचाउ गर्दै दिएको ओलीको यो चौथो अभिव्यक्ति हो ।

सत्ता गठबन्धन परिवर्तनसँगै आपसी सम्बन्ध चिसिए पनि उक्त प्रकरणका सम्बन्धमा ओलीले यही हप्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पटकपटक भेटवार्ता गरिसक्नुभएको छ । भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजी सूचीमा रहेका एमाले नेता टोपबहादुर रायमाझीको बचाउमा पार्टी अध्यक्ष केपी शर्मा ओली निरन्तर सक्रिय रहँदै आए पनि एमाले पार्टीले भने रायमाझीलाई सचिवबाट निलम्बन गर्दै अनुसन्धानका लागि सहयोग गर्न आह्वान गर्दै आएको छ ।

पार्टी महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका पार्टी सचिव रायमाझीलाई अनुसन्धान नसक्दासम्मका लागि निलम्बन गरिएको बताउनुभएको छ । उहाँले प्रहरीसमक्ष आएर अनुसन्धानलाई सहयोग पु¥याउनुपर्ने पोखरेलले बताउनुभयो । पार्टीले एकखालको निर्णय गरिसके पनि अध्यक्ष ओलीले भने रायमाझीका पक्षमा निरन्तर वकालत गर्दै हिँड्नुले एमालेको दोहोरो भूमिका देखिएको आरोप लागेको छ ।

बिहीबार केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा आश्चर्यचकित भएको बताउनुभयो । ओलीले रायमाझीलाई अहिले नै दोषी भन्न नमिल्ने भन्दै अदालती प्रक्रियाले मात्र दोषी करार गर्न सक्ने बताउनुभयो । ‘सोझै पैसा समाउनेलाई छाड्ने तर टोपबहादुरलाई पक्राउ पुर्जी किन जारी गरिएको ?’, उहाँले भन्नुभयो– ‘हामीले सोचेका थिएनौं टोपबहादुरजी कति संलग्न हुनुहुन्छ हुनुहुन्न, उहाँ संलग्न हुनुहुन्छ भन्ने हाम्रो अनुमान पनि होइन । सोचेका पनि थिएनौं । तर हामी आश्यर्चचकित भयौं ।’

ओलीले उक्त काण्डमा रायमाझीलाई पटकपटक निर्दोष सावित गर्न खोजे पनि रायमाझीले तत्कालीन गृहमन्त्री रामबहादुर थाकापा सुरक्षा सल्लाहाका इन्द्रजित राईसहितको गिरोहलाई सहयोग गरेको प्रहरीले पुष्टि गरेको छ । रायमाझीका छोरा सन्दीप रायमाझी र सानु भण्डारीका नाममा काटेको डेढ करोडको चेकसमेत प्रहरीले फेला पारेपछि प्रहरीले अनुसन्धानलाई गहिरो बनाउँदै लगेको हो यस प्रकरणमा रायमाझीसहित पूर्वगृहमन्त्री रामबहादुर थाप पुत्र प्रतीक थापा र इन्द्रजित राई पुत्र निरज राई फरार छन् । सोही अभियोगमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनाराण पाण्डे, रामबहादर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजित राईसहित १२ जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उक्त काण्डमा नाम जोडिएका कांग्रेस नेतृहरु मञ्जु खाँण, आरजु राणा, पूर्वगृहमन्त्री रामबहादुर थापालगायत व्यक्तिहरुका बारेमा भने प्रहरीले केही बोलेको छैन ।

रायमाझीले सुरुमा उक्त प्रकरणमा भइरहेको अनुसन्धानमा सहयोग गर्ने भने पनि बीचमा उहाँ फरार हुनुहुन्छ । आफूले टोपबहादुर यसरी सम्पर्कविहीन होलान् भनेर नसोचेको बताउनुभयो । ‘मैले के सोचेको थिइनँ भने टोपबहादुरजी बाहिर त्यसरी जानुहुन्छ । पछि पो मैले सुनें प्रहरीले अभद्र व्यवहार गर्न खोज्यो त्यसकारण अदालतमै उपस्थित हुने विचार गरें भनेर उहाँले भन्नुभयो भन्ने मैले सुनें ।’

भुटानी शरणार्थी प्रकणकै सन्दर्भमा ओलीले माओवादी शिविरमा भएको भ्रष्टाचारको छानबिन समेत गर्नुपर्ने बताउनुभयो । राज्यको ढुकुटी अनुचित ढङ्गले खल्तीमा हाल्नु पनि भ्रष्टाचार भएको भन्दै उहाँले भन्नुभयो–‘राज्यको ढुकुटी अनुचित ढङ्गले खल्तीमा हाल्नु भनेको भ्रष्टाचार हो । जो सुकैले गरेको होस् । राज्यको अबौं हिनामिनाको अख्तियारले छानबिन गर्नुपर्छ । तर, लडाकु शिविरको विषयमा छानबिन गर्न अख्तियारले खुट्टा कमाइ रहेको छ ।’

पक्राउ परेका खाँणलाई कांग्रेसको संरक्षण

बिहीबार बसेको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषय उठे पनि कुनै निर्णय हुन सकेन । पक्राउ परेका खाँणलाई कारबाही गर्ने आशा गरिए पनि कारबाही हुन सकेन ।

कांग्रेस पदाधिकारी बैठकपछि सहमहामन्त्री जीवन परियारले निलम्बन गर्नुपर्ने कुरा बैठकमा उठेको तर निष्कर्षमा नपुगेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘भुटानी शरणार्थी प्रकरणका सन्दर्भमा केही कुरा उठेको छ । तर कुनै पनि कुरामा निष्कर्षमा पुगेका छैनौं । शरणार्थी प्रकरणमा अनुसन्धानका लागि बुधबारबदेखि हिरासतमा बसेका नेता बालकृष्ण खाँणलाई अदालतबाट दोषी ठहर नभइसकेकाले पार्टीले आधिकारिक धारणा बनाएर जानु उचित नहुने भन्ने नै रह्यो ।’

खाँण अन्य दलका नेताहरुजस्तै भागेर नहिँडेको र प्रहरीको अनुसन्धानलाई सहज बनाउनकै लागि सरासर हिरासतमा गएकाले अहिले नै उहाँलाई पार्टीले दोषी करार गरेर जान वा निलम्बन गर्ने भन्ने कुराको छलफल भइरहेको परियारले बताउनुभयो । ‘नेकपा एमालेका पदाधिकारी आज पनि फरार हुनुहुन्छ । तर कांग्रेस दोषीलाई उम्काउने प्रयासमा छैन’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

बुधबार पनि खाँणलाई तत्काल कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भएको थियो । एमालेले सचिव टोपबहादुर रायमाझीलाई पार्टीले कारबाही गरेपछि कांग्रेस पनि दबाबमा छ । तर सभापति देउवा यस विषयमा मौन हुनुहुन्छ भने महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायत युवा नेताहरुले पूर्वगृहमन्त्री खाँणलाई प्रहरी अनुसन्धान हुँदासम्म पदबाट हटाउनुपर्ने बताउँदै आएका छन् । समाचारपत्र

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);