झन्डै बेचिइन् मुना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

झन्डै बेचिइन् मुना

नेपालगन्ज, २२ पुष। बिक्रीका लागि भारत पुर्‍याइएपछि आफ्नै सतकर्ताले जोगिएकी खलंगा रानागाउँ, जाजरकोटकी २५ वर्षीया मुना शाही ओलीले ३ वर्षदेखि नेपालगन्जको सल्यानीबागमा जुता/चप्पल व्यवसाय सञ्चालन गरिरहेकी छिन् ।

अधिकांश समय जुत्ता र चप्पल उत्पादनमै गरिरहेको अवस्थामा भेटिने मुनाले पतिबाट लामो समयसम्म घरेलु हिंसा सहिन् । १३ वर्षको कलिलो उमेरमै विवाह गरेकी उनलाई ११ वर्षअघि पतिले छाडेर भागे । अलपत्र परेपछि दलालमार्फत भारत पुगिन् । आफ्नै सावधानीका कारण जोगिइकी उनले ‘मुना सु सेन्टर’ स्थापना गरी जुत्ता चप्पलको उत्पादन गरिरहेकी छिन् । जुत्ता व्यवसायले अहिले उनलाई आत्मनिर्भर बनाएको छ । जुत्ता पसललाई उद्योगमा परिणत गर्ने मुनाले लक्ष्य लिएकी छन् ।

१२ वर्षअघि नेपाल प्रहरीका एक जवानसँग प्रेमविवाह गरेकी उनको सम्बन्ध लामो समय टिकेन । विवाह गरेको एक वर्षमै छोरी जन्मिइन् र त्यसको २ महिनामै पति उनलाई छोडेर भागे । त्यसपछि उनको पतिसँग भेट भएको छैन । पतिले छोडेपछि माइतीमा बस्दै आएकी मुनालाई बैदेशिक रोजगारीमा जाने इच्छा भयो घर परिवारले पनि त्यही सल्लाह दिए । ८ वर्षअघि मानव बेचबिखनमा संलग्न दलालको सम्पर्कमा पुगिन् । दलालले उनलाई दिल्ली हुँदै साउदी अरब लैजाने भन्दै नेपालगन्जको बाटो भएर भारतीय बजार रुपैडिया पुर्‍याएका थिए । रुपैडियाको एक होटेलमा चियानास्ता खाइसकेपछि शौचालय गएर फर्किने क्रममा दलाल र अर्का एक व्यक्तिबीचको मोलमोलाइको कुरा सुनेपछि उनी झस्किइन् । ‘मलाई बेच्न खोजेको थाहा पाएपछि भागेर साथी संस्थामा पुगे । संस्थाले उद्धार गरेपछि झन्डै बेचिनबाट जोगिएँ । उक्त संस्थाकै सहयोगमा सीपमूलक तालिम लिएँ,’ उनले भनिन्, ‘एक त पतिबाट पीडित भएकी त्यसमा पनि बेचिनबाट जोगिएपछि जीवनमा केही गर्छु भन्ने आँट आयो र सीप सिकेर जुत्ता बनाउने व्यवसायमा लागें ।’

जुत्ता उत्पादनबाट मासिक १५ हजार रुपैयाँसम्म बचत गर्ने गरेको उनको भनाइ छ । जुत्ता उत्पादनबाट भएको फाइदाले छोराछोरीलाई नेपालगन्जको बसपार्कस्थित समावेशी इंग्लिस बोर्डिङ स्कुलमा पढाउँदै आएको उनको भनाइ छ । उनकी छोरी तीन कक्षामा र छोरा एक कक्षामा अध्ययनरत छन् । ‘जुत्ता व्यवसाय सुरु गर्दा छिमेकी र आफन्तबाट अनेक कुरा सुन्नुपर्‍यो । दलितले मात्र जुत्ता बनाउँछन् भन्ने परम्परागत मान्यता तोड्नसमेत धेरै समय लाग्यो । मैले पेसा र व्यवसाय जातले होइन, कर्मले गर्नुपर्छ भन्ने सन्देश दिँदै आएँ,’ उनले भनिन्, ‘जुत्ताले नै मलाई आत्मनिर्भर बनाउन सहयोग गरेको छ । उद्यमी बन्ने मेरो सानैदेखिको रहर जुत्ता व्यवसायले नै पूरा गर्‍यो ।’ आत्मनिर्भर बन्दै गएपछि छिमेकी र आफन्तले हेर्ने दृष्टिकोण पनि बदलिएको उनले सुनाइन् ।

घरभाडा, सटरभाडा, छोराछोरीको खर्च, औषधि–उपचार सबै जुत्ता व्यवसायले धानेको उनले सगर्व सुनाइन् । सानो व्यवसायलाई विस्तार गर्न दिनरात आफ्नै काममा खटिएको उनको भनाइ छ । जुत्ता बनाउने व्यवसायलाई उद्योग बनाउने सोच भए पनि आर्थिक समस्याका कारण लक्ष्य पूरा गर्न नसकेको उनी बताउँछिन् । उनले जुत्ता निर्माणसँगै जुत्ता बनाउने तालिमसमेत सञ्चालन गर्दै आइरहेकी छन् । उनले अहिलेसम्म तीन दर्जन बढी महिला र पुरुषलाई जुत्ता उत्पादनको तालिम दिइसकेको बताइन् । ‘ठूला हन्डर खाएर त जोगिए र आफ्नै व्यवसाय सञ्चालन गर्न पाएँ,’ उनले भनिन्, ‘जतिसक्दो छिटो आफ्नो लक्ष्यमा पुग्न खोजेकी छु । एक दिन यसैलाई जुत्ता उद्योगको स्वरूपमा बदल्न दिनरात मेहनत गरिरहेकी छु । सरकारी सहयोग र बैंकबाट केही ऋण पाए लक्ष्य पूरा गर्न सजिलो हुने थियो ।’

यो खबर आजको कान्तिपुरमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);