काठमाडौं, २१ पुष । बैंकिङ कारोबारलाई सहज बनाउन राष्ट्र बैंकले नयाँ योजना कार्यान्वयनमा ल्याउँदै छ । अब कुनै पनि बैंकका ग्राहकले अब आफ्नो खातामा अर्को बैंकबाट पनि रकम जम्मा गर्न पाउने भएका छन् ।
एकाउन्टपेयी चेक जम्मा गरेर अर्को बैंकबाट यस्तो सुविधा लिने गरेका ग्राहकले अब सिधै नगद जम्मा गर्न सक्ने भएका छन् । सम्बन्धित बैंकको खाता नम्बरबाट आफूलाई पायक पर्ने ठाउँमा रहेको जुनसुकै बैंकको शाखाबाट रकम जम्मा गर्न सकिने छ । यो व्यवस्था कार्यान्वयनमा आएपछि ग्राहकले खाता भएको बैंकमा पुग्नुपर्ने झन्झटको अन्त्य हुने डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।
विद्युतीय भुक्तानी प्रणालीलाई प्रभावकारी रुपमा लागू गर्न विद्युतीय भुक्तानी व्यवस्थाको ऐनको मस्यौदा तयार पारी सञ्चालक समितिमा पेश भएको शिवाकोटीले जानकारी दिए । विहीबार राष्ट्र बैंक सञ्चालक समितिले पारित गरेको कार्यविधि अब अर्थ मन्त्रालयमा पेश गरिने र अर्थबाट स्वीकृति भएपछि कानूनी रुप दिन व्यवस्थापिका संसदमा पेश हुने छ ।