काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डी.पी अर्यालले विश्व साइकल यात्री पुष्कर शाहको फेसबुक पोस्ट प्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।
साइकल यात्री शाहले सोमबार बिहान आफुलाई साइकल लिएर गएका कारण रास्वपा केन्द्रीय कार्यालयमा पस्न नदिएको आरोप लगाएका थिए ।
रास्वपा उपसभापति अर्यालले बोलाएको कारण आफु साइकल लिएर भेट्न पुगेको तर, सुरक्षागार्डले साइकल बाहिरै राख्न भनेको भन्दै दुखेसो पोखेका थिए । उनले बाहिर आएर अर्याललाई फोन गरेको तर, फोनपनि नउठेपछि आफु फर्किएको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।
शाहको यहि आरोपको खण्डण गर्दै अर्यालले शाहले फोन नउठेको कुरा चाहिँ सत्य भएपनि त्यस लगतै फोन फर्काएको स्पष्ट पारेका छन् । तर, शाहले आफ्नो फोन काटेको बताए ।
‘कुरा के रहेछ भने हाम्रो पार्टी कार्यालयमा पार्किङ गर्ने ठाउँ थोरै भएकाले अरू सबै पाहुनाहरू जस्तै उहाँलाई पनि आफ्नो साधन बाहिर राखिदिन अनुरोध गरिएको रहेछ । तर, उहाँले यसलाई सर्वसाधारणमा गलत ढङ्गले प्रस्तुत गरी हामीलाई बदनाम गर्ने भाष्य निर्माण गर्न खोज्नु भएको देख्दा साह्रै दुःख लागेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
साथै, अर्यालले शाहसँग भोग्नु परेको असहज परिस्थितिप्रति माफी मागेका छन् ।




