काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि सबै क्षेत्रलाई सक्रिय हुन आह्वान गर्नु भएको छ ।
बलियो कानुन बनाएर मात्रै भ्रष्टाचार नियन्त्रण नहुने भएकाले त्यसमा सबै राजनीतिक दल, सामाजिक संघ, संस्थाहरुले साझा संकल्प लिएर अघि बढनुपर्ने मन्त्री शर्माको भनाई थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले भ्रष्टाचारलाई सदाका निम्ति अन्त्य गर्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो ।
मन्त्री शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राम्रालाई प्रोत्साहित गर्ने र नराम्रालाई दण्डित गर्ने कुरालाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताउनु भयो । मन्त्री शर्माले भन्नु भयो, ‘सदाचारीहरुलाई समाजमा स्थापित गर्ने, सम्मानित गर्ने र एउटा व्यक्तिले भ्रष्टाचार ग¥यो भने त्यो क्षेत्रका सबै बदनाम हुने जुन अवस्था छ । त्यो अवस्थाको अन्त्य कसरी गर्ने काम गनुृ पर्दछ । जुनसुकै क्षेत्रमा राम्रा र नराम्रा पक्ष हुन्छन । राम्रोलाई प्रोत्साहित गर्ने र नराम्रालाई दण्डित गर्नु पर्दछ भन्ने कुराको एउटा व्यवहारिक र वास्तवमा यो भ्रष्टाचार रोक्ने हो भने कानुनले मात्रै हुँदैन । समाजका सम्पूर्ण अवयवहरु सक्रिय हुुनु पर्छ । हामी सबै सक्रिय भएर लाग्नु पर्दछ । र, दृढ संकल्प गर्नुपर्छ भन्ने जुन विषय उठाउनु भएको छ । त्यो साँचो कुरा हो भन्ने मलाई पनि लाग्दछ । र, कानुन बलियो बनाउनु पर्छ । सकेसम्म कसैले पनि कानुनमा हुने कमजोरीलाई समातेर भ्रष्टाचारीहरु नउम्किउन । त्यो ढंगले बलियो कानुन बनाउनु पर्छ भन्ने कुरा साँचो हो । त्यो बनाउनु पर्छ । तर कानुनले मात्रै सम्पूर्ण रुपमा भ्रष्टाचारको अन्त्य गर्न सक्दैन भन्ने कुरा पनि साँचो हो । हामी हाम्रो समाज, हाम्रा समाजमा रहेका सम्पूर्ण सामाजिक संघ, संस्थासहितका अवयवहरु, राजनीतिक पार्टी, दल, नेता हामी सबै सांसदले एउटा साझा संकल्प गर्नु पर्दछ । यो एउटा रोग हो । यो रोगलाई हटाउन नसकेसम्म कानुन बलियो बनाएर नियन्त्रणसम्म गर्ने हो । निवारण हुन सक्दैन । अन्त्य हुन सक्दैन ।’
मन्त्री शर्माले भ्रष्टाचार नियन्त्रणका लागि दृढतापूर्वक अघि बढनुपर्नेमा पनि जोड दिनु भयो ।




