पार्टीका संगठनहरु भ्रष्टाचारमा लिप्त हुनुमा पार्टीकै दोष : विप्लव | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पार्टीका संगठनहरु भ्रष्टाचारमा लिप्त हुनुमा पार्टीकै दोष : विप्लव

काठमाडौं, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीका संगठनहरु भ्रष्टाचारमा लिप्त हुनुमा पार्टीकै दोष रहेको बताएका छन् । आईतवार शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा वहश कार्यक्रममा बोल्दै महासचिव विप्लवले देशमा भ्रष्टाचारको समस्या रहेको बताएका हुन् । भ्रष्टाचार देशको समस्याको रुपमा रहेको उनको भनाइ थियो ।

उनले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्नेखालको मानक बनेको टिप्पणी गरे । उनले पार्टी संवद्ध ट्रेड युनियन वा संगठनका नेताहरु पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन चाहने गरेको बताए । महासचिव विप्लवले भ्रष्टाचारको छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाने दाबी गरे । सत्तारुढ र सत्ताबाहिर बसेका सबै नेताहरुलाई अर्ब रुपैयाँ भन्दा कमको चार्ज नभएको उनले बताए ।

उनले भने,‘०६४÷०६५ पछि म के देख्छु भने हरेक संगठनको दृष्टिकोण भनेको आर्थिकमा गएर जोडियो । विद्यार्थी संगठनको नेता अध्यक्ष बन्ने भनेको काठमाडौंमा घर हाल्न पाउने हो भनेको जस्तो बन्न गयो । जो अहिले भर्खर लोकसेवाबाट कुनै अफिसरमा नाम निकाल्यो भनेपनि उसले भर्खर काठमाडौंमा घरको सपना देख्दैन । भविष्यमा चाहीँ देख्छ । तर अहिले नेपालका प्रायजसो ट्रेड युनियनहरु या संगठनहरु के छन् भन्दाखेरी, त्यहाँ किन त्यत्रो प्रतिष्पर्धा हुन्छ भन्दाखेरी एउटा पाटो के छ भन्दाखेरी नेता बन्नु भनेको पैसा कमाउनु हो भन्ने टाइपको बन्यो । त्यो विद्यार्थीहरुको दोष होइन पार्टीको दोष हो । विद्यार्थीहरुले त सिक्ने हो । नकारात्मक पनि सिक्ने हो । सकारात्मक पनि सिक्ने हो । सकारात्मक सिकेर बलिदानीतिर गएको भए त्यसरी नै विद्यार्थीहरु तयार हुन्थे । मैले आरोप लगाएको होइन नेपालका मान्छेहरु यदी छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाँदैनन् ? सबै जान्छन् नि पालोपालो । उसले उसलाई लगाउछ, उसले उसलाई लगाउँछ उहाँहरुको कुरा हो । तर सबैलाई अर्ब भन्दा कमको चार्ज छैन नि । अहिले सरकारमा भएका हुन् या बाहिर बसेका हुन् । त्यो साँचो कुरा हो । नेपालको समस्या भनेको भ्रष्टाचारकै समस्या हो । भ्रष्टाचारको समस्या भनेको राजनीतिक परिवर्तन भएन भन्ने हो । खोइ त परिवर्तन ? यथार्थ राजनीतिक परिवर्तन भनेको त आर्थिक परिवर्तन हो । मन्त्री हुने, सांसद हुने त्यहाँ मात्रै झुत्ति खेलिरहेको छ मान्छेले । त्यो परिवर्तन नै होइन । नेपालको जनतालाई चाहिएको परिवर्तन त आर्थिक जिवन पद्धतीमा हो नि । त्यसलाई पुरानै ठाउँमा झन भ्रष्टिकरण गर्ने । अनि राज्यमा ठूल्ठूला डंका पिटेर के काम छ त ? औचित्य छैन । राजनीतिक क्षेत्रमा भ्रष्टिकरण सुरु भएपछि त्यसले सबैतिर हानेको छ । अहिले विद्यार्थी संगठनमा पनि त्यो पसेको साँचो हो । कुनै पार्टीको अध्यक्ष निस्किएर आफ्नो विद्यार्थीलाई भन्न सक्छ तिमी भ्रष्टाचार नगर भनेर ? कहीँ प्रशिक्षण सुन्नुभएको छ तपाईहरुले कुनै नेताले दिएको छ भ्रष्टाचार नगर भनेर अहिले ? कसैले दिन सक्दैन । बरु अर्कोलाई आरोप लगाएर आफु फुत्किने दाउ मात्रै खोज्छ । यो नेपालको राजनीतिक आन्दोलनको सबभन्दा बिडम्बना हो ।’

महासचिव विप्लवले राजनीतिक क्षेत्रमा भ्रष्टिकरण हुनुले अन्य सबै क्षेत्रमा असर परेको धारणा राखे । उनले आफ्नो पार्टी र संगठनहरुमा भ्रष्टाचार नभएको दाबी गरे । उनले शिक्षालाई उत्पादनसँग जोडेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);