नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई सुरक्षित र सम्मानित ढंगले काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
महासंघको ६० औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै अध्यक्ष ढकालले सरकारले हालै पारित गरेको निजी क्षेत्र प्रवद्र्धन एवं संरक्षण रणनीति स्वागत गर्दै उहाँले निजी क्षेत्र सुरक्षित र सम्मानित नभएसम्म मुलुकले फड्को मार्न नसक्ने बताउनु भयो । उहाँले सरकारले ल्याएको निजी क्षेत्र प्रवद्र्धन एवं संरक्षण रणनीतिले उद्यमीहरूको मनोबल बढाउनुका साथै भौतिक र नीतिगत सुरक्षाको ग्यारेन्टी गर्ने विश्वास व्यक्त गर्नुभयो । गत फागुन २१ गतेको निर्वाचनपछि झण्डै दुई तिहाइको स्थायी सरकार गठन हुनुलाई अध्यक्ष ढकालले मुलुकको विकासका लागि अभूतपूर्व अवसर रहेको बताउनु भयो । ढकालले आफूहरुले नीतिगत स्थायित्वका लागि सर्वदलीय सहमतिको खोजी गरिरहेका बेला अहिले संसदमा एकै दलको झन्डै दुई तिहाइको उपस्थिति ठूलो अवसर रहेको बताउनुभयो । उहाँले स्थायित्वलाई मुलुकको विकास र सबै क्षेत्रमा स्थायित्व प्रदान गर्न सदुपयोग गरिनुपर्ने बताउनु भयो ।
ढकालले मुलुकको जनसांख्यिक लाभ र छिमेकी चीन तथा भारतको ठूलो बजारको उपयोग गर्नुपर्नेमा जोड दिँदै ढकालले देशभित्रै उच्च ज्यालासहितको रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । ढकालकाअनुसार हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिव ५ लाख युवालाई रोजगारी दिने क्षमता अहिले नेपालको निजी क्षेत्रमा छैन । नयाँ र पुराना गरी वर्षमा करिव ७ लाख युवा काम खोज्दै विदेशिइरहेका छन् । यो निराशालाई आशामा बदल्न लगानी बढाउनैपर्छ ।
उनले विगत ६० वर्षमा दक्षिण कोरियाले ५० डलरबाट प्रतिव्यक्ति आय ४० हजार डलर पु¥याउँदा नेपाल भने ५० डलरबाट १४ सय डलरमा मात्रै सीमित हुनुले हामीले प्रगति गरे पनि पर्याप्त हुन नसकेको उहाँले बताउनु भयो ।
स्वदेशी पुँजी परिचालन गरी ‘नेपालमा केही हुँदैन’ भन्ने भाष्य चिर्न महासंघको पहलमा १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना भई काम सुरु भइसकेको ढकालले जानकारी दिनुभयो । यस कम्पनीमार्फत ४० देखि ५० अर्ब रुपैयाँसम्मका ठूला आयोजना सञ्चालन गर्न सकिने उहाँले बताउनु भयो ।
साथै, पछिल्लो तीन वर्षमा भारत, चीन, युएई, कतार लगायतका देशमा बिजनेश समिट आयोजना गरिएको र विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको उहाँले बताउनु भयो । वैदेशिक लगानी भित्राउन सुशासन पहिलो सर्त भएको बताउँदै अध्यक्ष ढकालले यसका लागि प्रविधिको उच्चतम प्रयोग र सदाचारको आवश्यकता औंल्याउनु भयो ।
ढकालले नागरिक एपबाटै व्यवसाय दर्तादेखि सम्पूर्ण सरकारी कामहरू गर्न सकियोस् भन्ने आफूहरुको माग रहेको समेत बताउनु भयो । अध्यक्ष ढकालले कुल रोजगारीको ८६ प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रको महत्व बुझेर काम गर्न सबै सरोकारवालालाई आग्रह गरे। उनले बंगलादेश, भियतनाम, कम्बोडिया र भारत जस्ता देशहरूले निजी क्षेत्रलाई प्रोत्साहन गरेकै कारण आर्थिक फड्को मारेको भन्दै नेपालले पनि यो अवसर गुमाउन नहुने बताउनु भयो ।





