काठमाडौं, ४ वैशाख । तनहुँ–१ मा रिक्त रहेको एक प्रतिनिधि सभा सदस्यको लागि आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा आफ्नो उम्मेदवार जिताउन नेपाली कांग्रेसका नेताहरु तनहुँ पुग्ने क्रम बढ्दो छ ।
मनोनयन दर्तादेखिनै कांग्रेसका शीर्ष नेताहरुको तनहुँमा निकै बाक्लो आवतजावत देखिएको छ । केन्द्रले उपनिर्वाचनको चुनाव प्रचार प्रसारको लागि द्धय महामन्त्रीलाई खटाएपछि माहोल थप चुनावमय बन्दै गएको हो । त्यसयता अन्य नेताहरुको उपस्थितिमा चनाव प्रचारप्रसारका कार्यक्रमहरु भइरहेका छन् ।
महामन्त्री द्धय विश्वप्रकाश शर्मा, गगन थापा, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वमन्त्री मिलेन्द्र रिजाल, सांसद प्रदीप पौडेललगायत चुनाव प्रचारप्रसार कार्यक्रममा उपस्थित भई मतदातासमक्ष भट्टराईको पक्षमा मत मागिसकेका छन् ।
प्रदिप पौडेल पनि यतिबेला ब्यास,आँबुखैरेनी र बन्दीपुर गाउँपालिकाका स्थानीयहरुसँग भेटेर भट्टराईको पक्षमामत मागिरहेका छन् । कांग्रेस नेता सिंह पनि मंगलबार तनहुँ पुुगेर डुम्रेमा आयोजित कार्यक्रमलाई सम्बोधन गरी केही ¥यालीमा समेत सहभागी भएका थिए ।
आइतबार कांग्रेसको युवा नेताहरु रन्जित कर्ण, तरुणदलका पुर्व महासचिव भुपेन्द्रजंग शाही, कांग्रेस केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे र उर्मिला थपलिया लगायत तनहूँ पुगेर भट्टराईको पक्षमा मत हाल्न मतदातासँग भोट मागे ।
आइतबार तनहुँ पुुगेका कर्ण,शाही,घिमिरे र थपलियाले तनहुँ–१ का मतदाताहरुसँग भट्टराईलाई जिताएर पठाउन आग्रह गरे । पूर्व नेपाल विद्यार्थी संघको अध्यक्ष कर्णले तनहूँ–१ मा भारी मतले गोबिन्द भट्टराईले चुनाव जित्ने माहौल देखिएको बताए ।

बन्दिपुर गाउँपालिकाका वडाहरु २,३ र ४ का मतदाताहरुलाई भेटेर नेता कर्णले मुलुकको एकता र आर्थिक समृद्धिको विकासको लागि भट्टराईलाई मत दिन आग्रह गरे । अझै मुुलुकमा एकताको खाँचो रहेको उनको भनाई थियो । सत्तागठबन्धनका उम्मेदवार भट्टराईले भ्रष्टाचारमुक्त अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले चुनाव हारेमा देशलाई नै बेफाइदा हुने कर्णले दाबी गर्दै उनले भने,‘गोविन्द भट्टराई तनहूँको लागि मात्र नभएर देशकै लागि योग्य र बौद्धिक व्यक्तित्व भएकोले हामीहरु स्वस्फुर्त रुपले चुनाव प्रचार प्रसारमा जुटेका छौं ।’ साथै उनले तनहुँको विकास र समृद्धिको लागि उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताए। युवा नेता शाहीले विकास प्रेमी र शालिन नेता गोविन्द भट्टराईलाई मतदान गर्न तनहुँका जनतासँग आग्रह गरे ।
तनहूँ–१ मा गठबन्धनबाट भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेलगायत ९ जना चुनावी मैदानमा छन् । गत मंसिरमा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी राष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको सांसद पदमा उपनिर्वाचन हुन लागेको हो । पौडेलले २५ हजार ३१३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी एमालेका एकबहादुुर रानाले १९ हजार ९२५ मत प्राप्त गरेका थिए । त्यसैगरी, स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८ मत प्राप्त गरेका थिए ।




