काठमाडौं, २० पुष । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग सम्बादका लागि कम्युनिकेसन च्यानल पुनः खोल्न आदेश दिएसँगै दक्षिण कोरियाले पनि च्यालन खोल्ने निर्णय गरेको छ ।
दक्षिण कोरियाले उत्तरसँग सीमा पार सञ्चार प्रणालीमार्फत प्रारम्भिक सम्पर्क सुरु गरेको छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार दुई कोरियाबीच बुधबार सीमावर्ती गाउँ पनमुनजोममा सञ्चार च्यानलको माध्यमबाट सम्वादमा भएको हो । पहिलो पटक सञ्चार लाइनले काम गरिरहेको छ कि छैन भनेर जाँच गर्दा परीक्षण सफल भएको दक्षिण कोरियाले जानएको छ ।
आगामी महिना हुने शीतकालीन ओलम्पिक सफल पार्न सहयोगका लागि दक्षिण कोरियाले गरेको प्रस्तावपछि उत्तर कोरियाली नेता किम जोङ उनले च्यानल पुनः खोल्न आदेश दिएका थिए । सियोलले मंगलबार आफ्ना प्रतिद्वन्द्वीलाई जनवरी ९ मा पानमुनजोममा भेटवार्ता गर्न प्रस्ताव गरेको थियो ।