२०८० लाई स्वागत गर्न बसेका ब्वाँसाहरु | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८१, आइतबार

२०८० लाई स्वागत गर्न बसेका ब्वाँसाहरु

दीपेश केसीः २०७९ लाई बिदा गरी २०८० लाई स्वागत गर्दा अधिकांश नेपालीमा त्रास नै त्रासले बास गरेको छ । त्यो त्रास मनको बाघको मात्र नभई बनको बाघको पनि हो । बनको बाघ त यो देशमा शासन गरिरहेकाहरु हुन् जसले निर्दोष पाठाहरुलाई करापकुरुप पारेर हसुर्छ । खोलाको तलतिर पानी पिइरहेको पाठालाई किन पानी धमिल्याइस् भन्ने बाघहरुको बोलवाला छ यहाँ । निरिह बनाइएका छन् सर्वसाधारण ।

देशमा राजनीतिका ठूला ठूला कुरा भए । परिवर्तनका ठूला ठूला गफ हाँकिए । तर, आम जनताका लागि सोच्ने नेता सायदै जन्मिए । कुनै युगमा जन्मिएका सबैले खाएपछि खाने राजा महीन्द्र मल्लको कहानीमा रमाउनुपर्ने वाध्यता छ हामीलाई । अंशुवर्माकालीन कुशल प्रशासनबाट राज्यको समृद्धि हासिलको इतिहासबाट सिक्न समेत सकेन हाम्रो नेतृत्वले ।

प्रचण्डको ध्यान जनयुद्धका सहीद र घाइते खोज्नमै केन्द्रित छ ताकि फेरि अर्को चुनाव खर्च जोहो गर्न सकियोस् । देउवा ज्योतिषले भनेजस्तै सातपटक मन्त्री बन्ने सपना मात्र देख्छन् ताकि बुढानिलकण्ठ अझै फैलियोस् । केपी ओलीलाई बा भन्नेहरुकै चिन्ता छ । उनी सबै राज्यलाई दिन्छु त भन्छन् तर राज्यमाथि दोहन गरेको उखान र टुक्काभित्र लुकाउँछन् । वर्तमानको यो तीतो यथार्थलाई विगतसँग तुलना गर्दा जनतामा आक्रोश मात्र पैदा हुन्छ ।

राजा राम शाहको न्यायप्रणाली जसले न्याय हराए गोर्खा जानु लाई स्थापित गरिदियो । पृथ्वीनारायण शाहको दुरदर्शी दृष्टिकोण र राज्य एकीकरणको कुशलताको सम्मान गर्न नचाहने शासकहरु पायौं हामीले । महेन्द्र शाह जस्तो निडर राजालाई सधै गाली गर्नमै समय खर्चिनेहरुको अवतार पायौं ।

आखिर भीम मल्ल राज्यको सेवा गरेकै कारण मारिनुपरेको इतिहासले हामीलाई पिरोलिरहेको छ । त्यसैले त उनकी सतीले सरापेको कहानी यथार्थ जस्तै लाग्छ ।

षड्यन्त्र र हत्याकाण्डबाट सत्ता कब्जा गर्ने प्रवृत्ति पृथ्वीनारायण शाहका शासकपछि चलिरह्यो । भारदारहरुको झगडामा १० वर्षभन्दा कमका कोही पुरुष बाँकी राखिन्नथिए । चाहे भीमसेन थापा हुन् चाहे जङ्गबहादुर राणाले नै किन नहुन् । रगत बगाएर सत्ता हत्याएका थिए । २००७ साल देखि २०६३ सालको परिवर्तनका पछाडि रगत बगेकै थियो । २०५८ सालमा वीरेन्द्र शाहको वंशनाशको भित्रको रहस्यको पोका अझै खोलिएको छैन । त्यो घटनापछि ७ वर्ष पनि राजसंस्था टिकेन । गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको ग्रान्डडिजाइन के हो ?

देश गणतन्त्र, संघीयता र धर्मनीरपेक्षतामा गयो । मल्ल वंशको पतन भई स्थापित शाह वंशको शासन २५० वर्षमै पतन भयो । आखिर पृथ्वीनारायण शाहले जुन मूल्य मान्यतामा टेकेर राष्ट्र एकीकरण गरेका थिए त्यसको मर्मविपरित जाँदा धेरै समस्याहरु आए ।

जनतालाई खुशी बनाएर कर लिने खूबी उनमा थियो । बीसे नगर्चीसँग सुझाव लिन्थे उनी । ताकि हरेक घरले चन्दा दिएर उनको राष्ट्र एकीकरणमा योगदान गरेका थिए । खै किन हो पृथ्वीनारायण शाहले असली हिन्दूस्तान भने नेपाललाई । मुगलबाट पराजित भई थिलथिलो भएका भारतीय उपमहाद्वीपका राज्यहरुलाई यूरोपका इशाई राज्यहरु बेलायत, फ्रान्स पोर्चुगललगायतले पराजित गर्दै गए । यही एउटा राष्ट्र थियो जसलाई पृथ्वीनारायण शाहले जोगाउन सके । त्यसैले उनले गर्वका साथ असली हिन्दूस्तान भने । यही पहिचानले पनि नेपाल राष्ट्रका रुपमा टिकिरहन सक्यो त्यतिबेला ।

संघीयताका नाममा देशमा जातीय, क्षेत्रीय र साम्प्रदायिक विष रोपिएको छ । पहिचानका नाममा ठूलै द्वन्द्व हुने गरी योजना बुनिएको छ । रुवान्डामा हुटु र टुट्सीबीचको हिंसाको अभ्यास गरिसकेकाहरु संघीयताको अभ्यास लादिरहेका छन् । उनीहरु यूरोपको संघीयताको उदाहरण दिनेहरुका मात्र कुरा सुन्छन् । इथियोपिया र सुडान विभाजनको यथार्थबारे अनविज्ञ जस्तै आँखा चिम्लिन्छन् ।

धर्मनीरपेक्षताका नाममा थोपिरएको धर्म परिवर्तनको अभियानलाई सिधै बेवास्ता गरिरहेका छन् । त्यसो त मल्लकालमा पनि धर्म परिवर्तनको लहर केही समय नचलेको होइन । तर, पृथ्वीनारायण शाहको उदयले ती बडारिए । त्यसैले पृथ्वीनारायण शाहको धार्नी नाकको कथा बुन्न लगाइउनेहरु धर्म परिवर्तनमा लागेकाहरु नै छन् ।

यी विषयहरु देशको भविष्यसँग जोडिएका हुन् । जुन नेतृत्वले यसलाई मनन गर्ला उसले देश पनि बुझ्ला र जनतालाई पनि सुखी बनाउन सक्ला । नत्र परिवर्तनका नाममा सोझा जनतालाई झक्याउने नवसामन्ती जन्माउने र ठगीमा प्रोत्साहन गर्नेबाहेक केही हुनेछैन ।

नागरिक पाइलै पिच्छे ठगिएका छन् । मकैं पोलेर बेच्ने, साग बेच्ने, भारी बोकेर पैसा जम्मा गर्नेहरुको रकम पच पार्ने गिरोह सहकारीको खोल ओढेर बस्यो । उनीहरुको बचत हजम पारेर अर्बपति बन्नेहरु यूरोप, अमेरिका र अष्ट्रेलियामा आलिशान बङ्गलामा शयन गरिरहेका छन् । भ्रष्टाचारका पैसा स्वीस बैंकहरुमा लुकाइएका छन् ।
जलविद्युत आयोजना निर्माण गर्ने भन्दै प्रत्येक लिटर पेट्रोलमा करको मार थोपरियो । तर, खै ती जलविद्युत आयोजना ? दूरसञ्चारमा उत्तिकै भ्रष्टाचार छ । जनता यसबारे जानकार नभएकाले माफियाहरु खुलेआम ठगिरहेका छन् ।

सडक निर्माणको विनियोजित रकम खर्च नगरेर ब्याज खाने कर्मचारीको जमात छ यहाँ । यो भन्दा ठाडो भ्रष्टाचार के होला ? सेना र प्रहरीको राशनमा हाकिमले पैसा खाएको समाचार त आइरहन्छ । यो त परम्परागत भ्रष्टाचार नै भइसकेको छ ।

कोरोना भाइरसपछि विश्वमा धनी झन् धनी गरिब झ्न गरिब भए । नेपालमा त गरिबले भित्ता चिथोरेर खाने अवस्था आउने खतरा बनिसकेको छ । धनी यति धनी भए कि तिनले धर्ती नै टेक्न नपर्ला जस्तो गर्न थालिसके ।

युवाहरुलाई यतिसम्म विचलित बनाइएको छ कि कहिले विद्यालय तहको परीक्षा सकिएला र देश छाडौंला जस्तो गर्न थाल्छन् । जब देश छाड्छन् तब रवि लामिछाने जस्ता पात्रलाई मतदान गर्न बाआमा हजुरबा हजुरआमालाई करकर गर्न थाल्छन् । लुकाएर खाने भन्दा देखाएर खाने ठिक देख्न थाले होलान् युवाले ।

सन् २०७० को दशकमा नेपाली जनताले करको भारी नै बोक्ने प्रणाली पाए । पाइलैपिच्छे कर पाए तर त्यसवापत् देशबाट जतिसक्दो छिटो युवा निस्कने मार्गहरु पनि । वास्तवमा हाम्रा सामाजिक मूल्य मान्यता र संस्थाहरुलाई कमजोर बनाइए ।

अर्थतन्त्र त चाँडै बन्छ बिग्रन्छ तर बिग्रेको सामाजिक अवस्था सपार्न निकै ठूलो समय लाग्छ । मूल्य मान्यताहरु धराशायी भएमा समाजमा ठूलो संकट आउँछ । हाम्रा परिवार, नातासम्बन्ध, विवाह जस्ता संस्था कमजोर बनाइएका छन् । वास्तवमा हामी आफूबाट टाढा हुँदै गएका छौं र पराईलाई आफ्नो ठान्ने भुल गरिरहेका छौं । धरातल बिर्सदै गएका छौं ।

अहिले हामी जहाँ छौं त्यसको दोषी हामी आफै पनि हौं । नेतालाई नेतृत्वमा लाने हामी नै हौं । २०७० को दशकमा हामीबाट धेरै ठूला गल्तीहरु भएका छन् । हामीले धेरै ठूला अन्याय र अत्याचार सह्यौं । अन्याय गर्ने भन्दा सहने झन् ठूलो दोषी हो । अब जे भयो भयो अबचाहिं अन्याय नसहौं । त्यसविरुद्ध बोलौं । २०८० र त्यसपछिका वर्ष हामी र हाम्रा भावी सन्ततीका लागि सुदृढ बनाऔं ।

२०७० भर ब्वाँसाहरु हावी भए । अहिले ती २०८० को ढोकाभित्र छिरेर स्वागत गर्न बस्दैछन् । त्यो स्वागत उनीहरुको आफ्नो भोक मेटाउनका लागि मात्र हुनेछ । यसतर्फ सबै सचेत हुन जरुरी छ । जहिले पनि अत्याचार सहने निरिहता प्रकट गर्नु भावी पुस्तालाई पनि यही खाल्डोमा धकेल्नु सिवाय कुनै होइन जुन खाल्डोमा धेरै पुस्ता परेर बिताइसकेको छ वाध्यकारी समय । अब त परिवर्तन आउनुपर्छ ।

हामीसँग गर्व गर्न लायक प्राकृतिक सुन्दरता छन् । हामीसँग भरपूर उपयोग गरी समृद्धी हासिल गर्ने स्रोत छन् । सबैभन्दा महत्वपूर्ण हामीसँग मजबुत मूल्य मान्यता धर्म संस्कृति छन् जसको अभ्यासबाट हामी भौतिक र आध्यात्मिक दुवै रुपमा समृद्ध हुनसक्छौं ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);