काठमाडौं, २९ चैत्र । उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । मतदान बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महासंघको हिजोदेखि ५७औं साधारण सभा सुरु भएको हो ।
वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्यका लागि आज मतदान हुनेछ । महासंघको कार्यसमिति सदस्यमा चारजना सर्वसम्मत निर्वाचित भइसकेका छन् ।
वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल चैत्र ३० गतेदेखि विधानतः स्वतः अध्यक्ष बन्नेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षका लागि आज मतदान हुनेछ । वरिष्ठ उपाध्यक्ष लागि रामचन्द्र सांघाई, उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
तीनैजनाले प्यानलै घोषणा गरेर मैदानमा उत्रिएका छन् । साधारण सभाले ६४ सदस्यीय कार्यसमिति चयन गर्नेछ भने जिल्ला,नगर वाणिज्य,वस्तुगत र एसोसिएटमा एक एक गरी ३ जना उपाध्यक्ष चयन हुनेछन् ।