नवलपरासी, १९ पुस । नवलपरासीका खोलाबाट अवैध ढंगले ढुंगागिटी उत्खनन् गर्ने क्रम बढेपछि नागरिक समाजले जिल्ला समन्वय समितिको ध्यानाकर्षण गराएको छ ।
गत आर्थिक वर्षको जेठ मसान्तमै खोलाहरुको ठेक्का म्याद समाप्त भइसके पनि माफियाहरूले प्रहरी प्रशासनसँगको मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको स्थानीयको भनाइ छ । जिल्ला समन्वय समितिले भने अवैध उत्खनन नभएको दाबी गरेको छ । नदीजन्य पदार्थ उत्खननका लागि टेन्डर आह्वान गर्न ढिलाइ भइरहेकाले छिट्टै प्रक्रिया अघि बढ्ने जिससले जनाएको छ ।
नवलपरासी पश्चिमका नारायणी नदी, खजुरा खोला, पानभार, भलुही, तुरिया र झरही खोला तथा नवलपरासी पूर्वका विनयी, दुम्किबास, अरुङ खोला, केरुङलगायतका खोलाबाट अवैध उत्खनन भएको हो ।