आशीष रेग्मी
काठमाडौं । फागुन १९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि माओवादी धारका नेताहरुलाई धक्का लाग्यो । प्रचण्डबाट छुट्टीएर आ–आफ्नै पार्टी खोलेर बसेकाहरु हतारितै बालुवाटार पुगे ।
बालुवाटार पुग्नेमा नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहूती), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत थिए । बालुटारमै पूर्वमाओवादीहरुको बैठक बस्यो । उक्त बैठकले माओवादीलाई हेप्न थालिएको भन्दै माओवादी धारका नेताहरु एकजुट भएर प्रतिकार गर्नुपर्ने निस्कर्ष निकालेको थियो ।
त्यसपछिका बिभिन्न सार्वजनिक कार्यक्रमहरुमा उनीहरुले आक्रामक अभिव्यक्ति दिदै आएका छन् । नेत्र विक्रम चन्द ‘विप्लप’ले सार्वजनिक कार्यक्रमहरुबाटै माओवादीलाई नहेप्न चुनौती दिदै आएका छन् । पार्टीगत रुपमा पछिल्लो समय माओवादी कमजोर हुँदै गएपछि माओवादीबाट छरिएर रहेकाहरु एक हुनै पर्ने अवस्थामा पुगेका छन् । माओवादी एक हुने क्रम सुरु भइसकेको छ । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच एकता हुने भएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर दुई क्रान्तिकारी पार्टीबीच आगामी बैशाख १८ गते एकता हुने भएको हो । पार्टी एकताबारे आगामी शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिन आयोजना गरिएको छ । वैद्य नेतृत्वको पार्टीमा स्थायी समिति सदस्य सिपी गजुरेल, रामसिंह श्रीष र बास्तोलाको पार्टीबाट प्रवक्ता हेमन्तप्रकाश ओली र उदयबहादुर चलाउने रहेका छन् ।
प्रचण्डले पनि माओवादी एकताकालागि पहल गरिरहेका छन् । यो मुद्दाले माओवादीलाई एक बनाउन नेताहरुलाई एक ठाउँमा ल्याइदिएको छ । अर्को चुनावसम्ममा माओवादीलाई एक बनाएर अघि बढ्ने प्रचण्डको योजना रहेको छ ।