काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले सरकारले किसानलाई रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता जनाउन नसक्ने प्रष्ट पार्नुभएको छ ।
रासायनिक मलको अभाव रहेको भन्दै उहाँले तर कहिले आयात हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको प्रष्टयाउनु भएको हो । अन्य मुलुकको यातायात व्यवस्था कतिको सहयोगी हुन्छ भन्ने कुराले यसलाई निर्धारण गर्ने भएकाले मलको आयात यति नै हुन्छ भनेर भन्न सक्ने अवस्थामा सरकार नरहेको मन्त्री भुसालको भनाई थियो ।
मंगलबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिनेक्रममा उहाँले यस वर्षका लागि मलको आवश्यक व्यवस्था मिलाउन करिव ७५ प्रतिशत सम्झौंता भईसकेपनि त्यसलाई ल्याउने कुराको टुंगो नभएको सदनलाई जानकारी गराउनुभयो । मन्त्री भुसालले रासायनिक मलको आवश्यक्ता व्यवस्था मिलाउन र कृषकलाई ऋण र अनुदान उपलब्ध गराउने कार्यमा दूरुपयोग हुन नदिने विषयमा लिखित सुझाव दिन पनि सांसदहरुलाई आग्रह गर्नु भयो ।
मन्त्री भुसालले सरकारले किसानहरुको समस्या समाधानका निम्ति सांसदहरुले दिएको सुझावलाई ग्रहण गरेर अघि बढने प्रतिवद्धता पनि दोहो¥याउनु भयो ।




