वाग्लेको टिप्पणी– कांग्रेस दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वाग्लेको टिप्पणी– कांग्रेस दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले औपचारिक रुपमै नेपाली कांग्रेस परित्याग गरेको घोषणा गर्नुभएको छ ।

वाग्लेले सामाजिक सञ्जाल मार्फत यस्तो घोषणा गर्नुभएको हो । यसअघि उहाँले संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालालाई सन्देश पठाएर पार्टी परित्यागको घोषणा गर्नुभएको समाचारहरु बाहिरिरहेका थिए । वाग्ले वैशाख १० मा तनहुँ १ मा हुने उपनिर्वाचनमा उठ्नका लागि राष्ट्रिय स्वन्त्र पार्टीसँग अहिले छलफलमा हुनुहुन्छ ।

जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको भन्दै उहाँले पार्टीमा बसिरहन नसक्ने अवस्थामा पुगेको बताउनुभएको छ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने समेत दाबी गर्नुभएको छ ।
‘वि. स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।

त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ। तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।

अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ। सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल,’ उहाँले लेख्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);