काठमाडौं, १३ चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया बिरुद्धको कुरा भएको बताउनुभएको छ । आईतवार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयकप्रति असहमत हुनु शान्ति प्रक्रिया बिरुद्धको कुरा भएको उहाँको भनाइ थियो । उहाँले शान्ति प्रक्रियालाई मन नपराउने र शान्ति प्रक्रियालाई बेठिक ठान्नेहरुले यसको विरोध गरेको बताउनु भयो । उहाँले यो विधेयक विगतमा शान्ति सम्झौता गर्नेहरु सबैको साझा विषय भएको बताउनु भयो । उहाँले यो विषय सबै नागरिक र सबै पार्टीहरुको पनि विषय भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘यो विषयलाई पूर्ण रुपमा असहमति भन्ने कुरा त शान्ति प्रक्रियाको बिरुद्धको कुरा भयो । हामी शान्ति प्रक्रियाको बिरुद्धमा कि समर्थनमा भन्दा त हामी शान्ति प्रक्रियाको समर्थनमा छौँ । त्यसकारणले गर्दा पूर्ण रुपमा शान्ति प्रक्रिया मन नपराउने, शान्ति प्रक्रियालाई बेठिक छ भन्ने, शान्ति प्रक्रिया हुनुहुन्नथ्यो भन्ने शक्ति त कुनै हुनपनि सक्ला । कसैलाई लाग्न पनि सक्ला । तर आजको दिनमा संसदभित्र आउँदाखेरी हिजो सम्झौतामा बस्ने सबै राजनीतिक दलको साझा विषय हो । त्यो मात्रै होइन कि हिजो सम्झौता गर्नेहरुको सबैको साझा विषय त हुँदै हो । सँगसँगै शान्ति प्रक्रिया हामी सबै नागरिकको भएको हुनाले सबै नागरिक र सबै पार्टीको साझा विषय हो ।’
उहाँले विधेयकको सम्बन्धमा राजनीतिक दलहरुका बीचमा सहमति जुटाउने अधिकतम कोशिस हुने बताउनु भयो ।