काठमाडौं १८ पुष । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात सेवालाई मर्यादित बनाउन सम्वद्ध सबै पक्षलाई सचेत गराएको छ । महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले यातायात सेवालाई मर्यादित बनाउन सवारी धनी, चालक, परिचालक सबैलाई सचेत गरएका छन् ।
पर्यटन प्रहरीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यातायात सेवा मर्यादित र व्यवस्थित बनाउन सकेमात्रै नेपाललाई समृद्ध बनाउने आधारको रुपमा रहेको पर्यटन व्यवसाय फष्टाउन सक्ने स्पष्ट पारे ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले यातायात सेवालाई व्यवस्थित बनाएर मात्र मुलुकमा पर्यटकहरु भित्रयाउन सकिने स्पष्ट पारे । उनले पर्यटकहरुलाई आकर्षित गर्न सवारी शुल्क सुलभ बनाउनुपर्नेमा जोड दिए ।
पर्यटन प्रहरी ईकाई भृकुटीमण्डपकी प्रमुख प्रहरी निरीक्षक रुपा थापाले पर्यटकहरु मुलुकको समृद्धिको आधार भएकाले उनीहरुको यात्रालाई सहज बनाउन यातायात व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने स्पष्ट पारिन ।