चलचित्र कलाकार संघको १९औं साधारण सभा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

चलचित्र कलाकार संघको १९औं साधारण सभा सम्पन्न

काठमाडौं । वरिष्ठ कलाकार नीर शाहले कलाकार, कलाकार संघ र नेपाली समाजबीचको त्रिकोणात्मक सम्बन्ध नराम्रो बन्दै गइरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

शनिवार काठमाडौंमा जारी नेपाल चलचित्र कलाकार संघको १९ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कलाकारहरु समाजमा आफ्नो गरिमामय उपस्थिति जनाउन कलाकार, कलाकार संघ र नेपाली समाजबीचको सम्बन्धका कारण सक्षम भएपनि बिस्तारै सबैले आफ्नो भुमिका बिर्सिंदै गएको बताउनु भयो । उहाँले कलाकार, कलाकार संघ र समाजबीच पछिल्लो समय दरार उत्पन्न भइरहेको भन्दै सबै मिलेर यसलाई समाधान गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली चलचित्रका कलाकारहरु समाजमा आफ्नो गरिमामय उपस्थिति जनाउन यसकारण सक्षम भएका हुन्, त्यसको पछाडि त्रिकोणात्मक सम्बन्धले काम गरेको थियो । कलाकार, कलाकार संघ र नेपाली समाज नै त्रिकोणात्मक सम्बन्ध हुनुपर्छ । जति यसमा त्रिकोणात्मक सम्बन्ध हुन्छ, त्यति धेरै राम्रो काम गर्न सकिन्छ । पछिल्लो समय यसमा केही दरार देखिएको छ । त्रिकोणात्मक सम्बन्धलाई यथासक्दो ढंगले अघि बढाउन सक्नुपर्छ ।’

त्यस्तै चलचित्र निर्माता संघका अध्यक्ष एवं नेपाल चलचित्र कलाकार संघका निःवर्तमान अध्यक्ष नवल खड्काले राष्ट्रिय चलचित्र नीतिको कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले चलचित्र सम्बन्धी कानून बनाउन नसकेको भन्दै आपत्ति जनाउनु भयो ।

त्यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले अहिलेको नेतृत्वका लागि दाबेदारहरु कुर्सीका लागि मात्रै आएको आरोप लगाउनु भयो । उहाँले नयाँ आउने नेतृत्वलाई आफ्नो अभाव खड्किन नदिनेगरी काम गरेर देखाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईहरुलाई च्यालेन्ज हो आज जो जित्नुहुन्छ विचार गर्नुहोस्, रविन्द्र खड्काको अभाव कतै खड्किन नदिनुहोला । जोसुकै आएपछि अहोरात्र खटिनुहास् । अहिलेको आउने नेतृत्व कुर्सीको लागि आउनुभएको छ ।’

त्यस्तै महासचिव पदका उम्मेदवार सविन श्रेष्ठले आफूले जितेपछि कलाकार संघमा रोकिएका कामहरुलाई तिब्र गतिमा अघि बढाउने बताउनु भयो । उहाँले अबको नेतृत्वका लागि दुवै प्यानल सक्षम भएपनि जितेपछि चलचित्र विकासका लागि काम गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै कलाकार सुशील पोखरेलले कलाकार संघले सबैको सहयोग गर्नुपर्छ भनेर कल्याण कोष खोलेपछि वास्तविक पीडित कलाकारहरुलाई आवश्यक सहयोग गर्न नसकिरहेको गुनासो गर्नुभयो । उहाँले अहिलेको श्रोत, साधनले मात्रै कलाकारहरुको सहयोग नपुग्ने तर काम जारी रहेको बताउनु भयो ।

त्यस्तै नेपाल चलचित्र कलाकार संघमा स्वतन्त्र महासचिवमा उम्मेदवारी दिनुभएका उत्तम केसीले कलाकाकर पार्टीको हुनु नहुने बताउनु भयो । उहाँले कलाकारहरु विभाजित बन्नु नहुने र कलाकारहरुलाई संघले एकतावद्ध गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कलाकार पार्टीको हुनुहुँदैन, कलाकार विभाजित हुनु हुँदैन, कलाकार संघले अहिलेसम्म लागेका कलाकारहरुलाई कलाकार संघले एकतावद्ध गर्न सकेको छैन । संघमा बेथिति, विसंगति छ, यसकाबिरुद्धमा म लागेको हो । सबै कलाकारलाई संघले समेट्न सकेको छैन। पुराना र नयाँ कलाकारबीचमा भेदभाव छ ।’

उहाँले चलचित्र कलाकार संघमा बेथिति, विसंगति रहेकाले त्यसको बिरुद्धमा आफू रहेको बताउनु भयो । उहाँले नयाँ र पुराना कलाकारबीचमा रहेको भेदभावलाई हटाउनुपर्ने बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार