राजनीतिक समीकरण फेरबदल भएपनि नीति फेरिँदैन : प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

राजनीतिक समीकरण फेरबदल भएपनि नीति फेरिँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक समीकरणमा फेरबदल आए पनि सरकारको नीतिमा परिवर्तन नआउने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दोस्रो चौमासिक समीक्षाका लागि मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम नफेरिने जिकिर गर्दै भन्नुभयो– ‘यही सरकारले निरन्तरता पाउनेमा म ढुक्क छु । यस बीचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ । तर यसको अर्थ सरकारको नीति फेरिँदैन । सरकारको नेतृत्व तलमाथि हुँदैन । मन्त्रीहरू फेरिनुहुन्छ, तर सरकारको नीतिगत प्राथमिकता फेरिँदैन । कर्मचारी प्रशासनले पनि ती विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्दछ ।’ प्रचण्डले वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने समेत बताउनुभयो ।

कार्यक्रममा उहाँले राष्ट्रपतिको निर्वाचन सकिएको र उपराष्ट्रपतिको निर्वाचनसमेत चैत्र ३ मा भइसकेपछि मन्त्री परिषद् विस्तारले पूर्णता पाउने जानकारी पनि दिनुभयो । सत्ताको जिम्मेवारीमा पु¥याउन सहयोग गरेको नेकपा (एमाले) सहितको गठबन्धनबाट राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा अलगीएसँगै सरकारले विश्वासको मत लिनुपर्ने नैतिक जिम्मेवारी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिको निर्वाचनलगत्तै विश्वासको मत लिने र मन्त्रीपरिषद् विस्तारको कामलाई चाँडै टुंग्याउने सरकारको तयारी रहेको पनि बताउनुभयो ।

यसैबीच प्रधानमन्त्री दाहालप्रति लक्षित गर्दै नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीति भनेको गुटबन्दी र जालझेल भएको टिप्पणी गर्दै आठ दलीय गठबन्धन कुनै राजनीतिक गठबन्धन नभएको बताउनुभयो । मानवअधिकार एलाइन्सको राष्ट्रिय सम्मेलनलाई सम्बोधनका क्रममा ओलीले देशमा अहिले साँचो अर्थमा लोकतन्त्र नभई जालझेलकै राजनीति भइरहेको बताउनुभयो । एमालेलाई सिध्याउन अनेकन तिकडम गरेर सत्ताको वरिपरि घुम्नेहरूबाट देशमा खतरा उत्पन्न भएको आरोप लगाउँदै उहाँले भन्नुभयो–‘राजनीतिक इमान्दारीता र नैतिकता नै छैन । अहिले त डेमोक्रेसी भन्ने कहाँ छ र रु गुटबन्दी र जालझेल मात्र छ । तर, यो जालझेल धेरै दिन टिक्ने अवस्थामा मैले देखोको छैन ।’

पूर्व प्रधानमन्त्री ओलीले प्रचण्डसँग गठबन्धन गरेर सत्ताको भागबण्डामा लागेकाहरू धेरै दिन सँगै रहन नसक्ने टिप्पणीसमेत गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा एमालेलाई छाडेर कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेपछि एमाले सरकारबाट बाहिरिएको थियो । त्यसयता एमालेले वर्तमान सरकारको आयु लामो नहुने ठोकुवा गरिरहेको छ । एमाले नेता विशाल भट्टराईले प्रचण्डबाट स्थिरताको आशा नगरिएको टिप्पणी गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो – ‘प्रधानमन्त्री प्रचण्ड अस्थिर खेलाडी हुनुहुन्छ । उहाँमा राजनीतिक इमान्दारीता र नैतिकता छैन । यदि उहाँसँग इमान्दारीता र नैतिकता थियो भने आम निर्वाचनपछि बनेको गठबन्धन दुई महिनामै टुट्दैनथ्यो । विदेशीको इशारामा राजनीतिक सहमति कार्यन्वयन नगरी गठबन्धन तोडेर ८ दल र १० दल भन्दै हिँड्नुभएको छ । त्यो कति दिन रहन्छ हेर्दै जाउँ न ।’

नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले गठबन्धनमा रहेका दलहरू सरकारमा गएर यो गठबनधनलाई आगामी पाँच वर्षसम्मै लैजानेगरी राजनीतिक कोर्स अघि बढेकोे दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो– ‘कांग्रेससहितको वर्तमान गठबन्धनबाट प्रचण्डजी विश्वस्त हुनु स्वाभाविक र यथार्थपरक हो ।’

शक्ति बाँडफाँटमा सकस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति र नेतृत्व नफेरिने बताउँदै गर्दा मन्त्रीमण्डल विस्तारमा भने प्रधानमन्त्री प्रचण्डलाई सकस देखिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डलाई साथ दिँदै आएका प्रायः सबै दलले सरकारमा सामेल हुने इच्छा देखाएपछि शक्ति बाडफाँटमा समस्या आउन सक्ने नेताहरू बताउँछन् ।

प्रचण्ड नेतृत्वको सरकारमा एमालेले लिएको ८, रास्वपाका ९ र राप्रपाका २ मन्त्रालयसहित १६ मन्त्रालय मन्त्रीविहीन छन् । ती मन्त्रालयमा कुन दलका कति पठाउने भन्ने गठबन्धन दलका शीर्ष नेताहरूलाई टाउको दुखाई हुनसक्ने भएकाले प्रधानमन्त्रीले पहिला नै विश्वासको मत लिएर सरकार गठनको प्रस्ताव गर्नुभएको गठबन्धनका एक नेताले बताए ।

एमालेको भागमा परेका ८ र केही राज्यमन्त्रीसमेत लिएर सरकारमा सहभागी बन्ने कांग्रेसको दाउ छ । एमालेले लिएको संख्यामा नघटाई मन्त्रालय पाउनुपर्ने दाबी कांग्रेसले गरेको बताउँदै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भन्नुभयो– ‘हामी ८ मन्त्रालय र २ राज्यमन्त्री समेत लिएर जाने भन्ने दलहरूबीच छलफल भइरहेको छ । कांग्रेसले गृहसहित परराष्ट्र र अर्थमध्ये एक शक्तिशाली मन्त्रालयसहित उपप्रधानमन्त्री लिएर जाने कुरामा समस्या छैन ।’

उता माओवादी केन्द्रमा गृह मन्त्रालय लिनुपर्ने भन्दै नेताहरूले प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढाएका छन् । यसअघि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले लिएकाले अब सो मन्त्रालय कांग्रेसलाई दिन नसकिने माओवादी केन्द्रका नेताहरू बताउँछन् । यसमा कांग्रेस लचिलो भए गृह मन्त्रालय माओवादीले लिन सक्ने आँकलन छ । यदि माओवादीले गृह मन्त्रालय पाएमा शक्तिबहादुर बस्नेतले सो मन्त्रालय सम्हाल्न सक्ने सम्भावना औंल्याइएको छ ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र प्रभु साह नेतृत्वको आमजनता पार्टी पनि सरकारमा जाने तयारीमा छन् । सरकारको पक्षमा उभिएको राष्ट्रिय जनमोर्चा भने सत्ता बाहिरै बस्ने भएको छ । रास्वपा तत्काल सरकारमा नजाने मनस्थितिमा छ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका रास्वपाबाहेक सबै पार्टी सरकारमा सामेल हुने बताउनुभयो । तर, सरकारमा कुन कुन दल जाने र कुन पार्टीले कुन मन्त्रालय लिने दिने भन्ने विषयमा खासै छलफल अघि नबढेको उहाँको भनाइ छ । सरकारमा जाने दलहरूको तीव्र मनाशायका कारण भागबण्डामा किचलो हुने र त्यहीबाट गठबन्धनमा फेरि बेमेलको स्थिति आउसक्ने आँकलन गरेर बसेको एमाले आठदलीय सत्ता गठबन्धन फुटाउने रणनीतिमा छ । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);