काठमाडौं, ३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित राष्ट्र निर्माणको महाअभियानको थालनी गर्नु सरकारको प्राथमिकता भएको बताएका छन् ।
आठौं संविधान दिवसको अवसरमा शुुभकामना सन्देश जारी गर्दै दाहालले यस्तो बताएका हुन् । उनले लेखेका छन्,“संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानुन निर्माणदेखि भएका कानुनको परिपालनामार्फत् जनतामा राजनीतिक परिवर्तनको प्रत्याभूति गराउने, प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित राष्ट्र निर्माणको महाअभियानको थालनी गर्नु सरकारको प्राथमिकता हो।”
संविधान कार्यान्वयनमार्फत् जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा सरकार रहेको पनि उनल स्पष्ट पारेका छन् । प्रधानमन्त्री दाहालले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको जानकारी पनि दिएका छन् ।





