काठमाडौं, १७ पुस । शेयर कारोबारमा अनलाइन कारोबार प्रणाली आउन ढिला हुने भएको छ । हतारमा योजना सार्वजनिक गर्ने तर काम गर्न नसक्ने निकायको रुपमा चिनिएको नेपाल स्टक एक्सेचेन्जले अनलाईन प्रणालीको सुरुवात गर्न नसकेको हो । कात्तिक २१ निर्धारित समयमा काम नभएपछि नेप्सेले मंगलबार नै अनलाइन प्रणाली आउन ढिलाई हुने जानकारी दिएको छ ।
नेपाल स्टक एक्सचेन्जले यही कात्तिक २१ गतेदेखि शेयर कारोबारमा अनलाईन पद्धति सुरु गर्ने उद्घोष गरेको थियो । पूर्वघोषित तालिका अनुसार २१ गते देखि पूर्ण स्वचालित विद्युतीय कारोबार सुविधा सञ्चालनमा आउनुपर्ने हो । तर नेपाल स्टक एक्सचेन्ज नेप्सेले पूर्ण स्वचालित कारोबार सुविधाका लागि आवश्यक तयारी पुरा गर्न नसकेकाले तत्काल सञ्चालन आउन नसक्ने जानकारी गराएको छ ।
गत असारमा तत्कालिन प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाले कात्तिक २१ गतेदेखि पुर्ण स्वचालित विद्युतीय कारोबार सुविधा सञ्चालन आउने बताउनुभएको थियो ।
तर, हालै मात्रै नियुक्त भएका चन्द्रसिंह साउदले भने तत्कालै यो सेवा लागू गर्न नसकिने र आगामी वर्षको असारभित्रसञ्चालनमा आइसक्ने भन्दै नयाँ मिति सार्वजनिक गर्नुभएको छ ।
अनलाइन सिस्टम निर्माता कम्पनी वाइको प्रालिले नेप्सेलाई १४ महिनाभित्र उपलब्ध गराउनुपर्ने सम्झौता गत बैशाख ६ गते गरेको थियो । यस आधारमा सिस्टम निर्माण प्रक्रिया अघि बढेको लगभग ७ महिना भएको छ । तर पनि नेप्सेको नेतृत्वले यही कात्तिक २१ गतेदेखि अनलाईन प्रणाली सुरु गर्ने दाबी गरेको थियो ।
तर आफैले तोकेको मितिमा अनलाईन प्रणाली सुरु गर्न नेप्से असफल भएको हो । सेयर ब्रोकरको संख्यामा वृद्वि, गैर आवासीय नेपाली तथा विदेशी संस्थागत लगानिकर्तालाई सेयर बजारमा भित्र्याउने, मर्जिन कारोवारलाई छिट्टै कार्यान्वयनमा ल्याउने लगायतका प्रतिवद्धता नेप्सेले व्यक्त गरेको छ ।
त्यस्तै संथागत सुशासन र सुचना प्रवाहमा विशोस ध्यान दिने र बजार विस्तार गर्ने समेतका योजना रहेको नेप्सेका प्रमुख कार्यकारि अधिकृत चन्द्र सिह राउतले बताउनुभयो ।
नेप्सेले प्रत्येक प्रदेशमा एउटा सचेतना कार्यक्रम यही आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको राउतले जानकारी दिनुभयो । त्यस्तै आगामी दिनमा शेयर कारोबारका लागि समुहगत परिसुचक निर्माण गर्ने तयारी नेप्सेको छ । नेप्सेले पब्लिक कम्पनीको रुपमा संचालित तर पुँजी बजारमा प्रवेश नगरेका कम्पनीलाई पुँजी बजारमा ल्याउने भएको छ ।
कार्यक्रममा अनलाइन सिस्टमका लागि नेप्सेले आवाश्यक हार्डवेयर पनि प्राप्त गरिसकेको जनाएको छ । त्यसैगरी अबदेखि फाइनान्स र नागरिक लगानी कोष, जीवन र निर्जीवन बिमा कम्पनीको सूचक पनि अबदेखि अलग अलग कारोबा गरिने पनि बताएकोछ ।
हालैमात्र विकास बैंक समूहबाट माइक्रोफाइनान्सलाई छुट्याएर बेग्लै उपसूचक बनाएको नेप्सेले अझै थप उपसूचकहरु थप्ने योजना बनाएको छ । त्यसैगरी बिमा समूहमा रहेका जीवन र निर्जीवन बिमा कम्पनीलाई पनि छुट्याएर बेग्लै परिसूचक बनाइने भएको छ । यसले गर्दा वास्तविक क्षेत्रका कम्पनी र बजार परिसूचकलाई आधार बनाएर कारोबार गर्न लगानीकर्तालाई सहज हुने नेप्सेले जनाएको छ ।
तर, अनलाइन सिस्टममा १६ वटा मोडल तयार गर्नुपर्नेमा हालसम्म ६ वटा मोडल मात्र तयार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । यसआधारमा अझै १० वडा मोडल निर्माण गर्नुपर्ने हुन्छ । यही कारण पनि अनलाइन ट्रेडिङ सिस्टम आउन ढिला हुने निश्चित भएको हो ।।