विद्या भण्डारी एमालेमा फर्किने संकेत | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

विद्या भण्डारी एमालेमा फर्किने संकेत

काठमाडौं । कार्यकाल पूरा भएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी ७ वर्ष भन्दा बढी समय शीतलनिवासमा बिताएर बाहिरिनुभएको छ ।

नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएर सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै भण्डारीले शीतलनिवास छाड्नुभएको हो । राष्ट्रपतिको रूपमा भण्डारीले शीतलनिवासमा दुई कार्यकाल विताउनुभयो । एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारीकी धर्मपत्नी समेत रहनुभएकी भण्डारी २०७२ मा राष्ट्रपतिका रूपमा शीतलनिवास प्रवेश गर्दा पार्टीमा उपाध्यक्षको भूमिकामा हुनुहुन्थ्यो । दोस्रो संविधानसभाबाट संविधान जारी भएपछि २०७२ कात्तिक ११ गते पहिलोपटक राष्ट्रपतिका रूपमा शीतलनिवास प्रवेश गर्नुभएकी भण्डारी दोस्रो पटक २०७४ फागुन २९ गते पुन राष्ट्रपति बन्नुभयो ।

दुई कार्यकाल जोड्दा भण्डारीको शीतल निवास बसाई ७ वर्ष ४ महिना बित्यो । लामो समय मुलुकको सर्वोच्च राष्ट्रपति पदको जिम्मेवारीमा रहँदाको अन्तिम अन्तिमतिर भण्डारीले सकारात्मक र नकारात्मक दुवै किसिमका आलोचनाहरू खेप्न पर्यो । राष्ट्रपतिको कार्यकाल पूरा गरेर निजी निवास फर्कँर्दै गर्दा भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा भइरहेका छन् । उहाँले आफूनिकटस्थहरुसँगको भेटमा पनि सक्रिय राजनीतिमा फर्कने संकेत गर्नुभएको छ । कतिपयले भण्डारीले पुनः एमालेको नेतृत्व सम्हाल्ने अड्कलबाजी समेत गरेका छन् ।

आफूनिकटस्थहरुसँगको भेटमा भण्डारीले समय र परिस्थितिले जे माग्छ, त्यो भूमिका निर्वाह गर्न तयार रहेको बताउने गर्नुभएको छ । भण्डारीको यो भनाइले पनि उहाँ पुनः राजनीतिमा फर्कन सक्ने धेरैको बुझाइ छ । तर, कतिपय विश्लेषक र बुद्धिजीवीहरू भने राष्ट्रपति जस्तो उच्च जिम्मेवारीमा पुगेको व्यक्ति अवकाश लिएपछि पुनः राजनीतिमा फर्कनु नहुने मत राख्छन् । संविधानले पूर्व राष्ट्रपतिलाई पुनः सक्रिय राजनीतिमा आउन नरोकेकाले उहाँ राजनीतिमा फर्किए अस्वभाविक मान्न नहुने तर्क पनि उत्तिकै छ ।

कार्यकालको अन्तिम क्षणमा राष्ट्रपति भण्डारीलाई बिदाइ भेट गर्न आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, रास्वपा सभापति रवि लामिछानेलगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू शीतलनिवास पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);