काठमाडौं, २७ फागुन । नेपाल जाइका अलमनाई एसोसियसन (जान) ले आज ४९औं वार्षिकोत्सव मनाएको छ । नेपालका लागि जापानी राजदुत किकुता युताकाको प्रमुख अतिथ्यमा मनाइएको वार्षिकोत्सवमा जानले तयार पारेको पुस्तक ‘मिलन’ विमोचन गरिएको थियो ।
कार्यक्रममा नेपालका लागि जापानी राजदुत किकुता युताकाले जानले नेपाल–जापानबीचको आर्थिक र सामाजिक सम्बन्ध विस्तार गर्न सहयोग पुराउँदै आएको भन्दै धन्यवाद दिनुभयो ।
जाइका नेपालका प्रतिनिधि अकिमिट्सु ओकुम्बुले नेपाल जाइका अलमनाई एसोसियसन (जान) लामो समयदेखि निरन्तर गर्दै आइरहेको कार्यक्रमले दुवै देशमा राम्रो सन्देश गएको बताउनु भयो । यस्ता कार्यक्रमले दुई देशको सम्बन्ध बलियो हुने उहाँको भनाइ थियो । ४९ औं वर्ष पुरा गरेको अवसरमा जानले प्रकाशन गरी आजै सार्वजनिक गरेको पुस्तक ‘मिलन’का लेखकहरुलाई धन्यवाद पनि दिनुभयो ।
जानका अध्यक्ष डा.रामप्रसाद भुसालले आफुले अध्यक्षता गरिरहेको जानले नेपाल–जापान सम्बन्धमा विशेष भूमिका खेल्ने दाबी गर्नुभयो । जापान जाने परिक्षार्थीहरुलाई परीक्षा लिदैं आएको, स्वास्थ्य शिविर सञ्चालन जस्ता नेपालमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको उहाँले सुनाउनु भयो ।
कार्यक्रममा विभिन्न मन्त्रालयहरुका वहालवाला सचिव,पूर्वसचिवहरु, सह–सचिवहरु, जाइका नेपालका सदस्यहरुलगायत विभिन्न उच्चस्तरिय व्यक्तिहरुको सहभागिता थियो । कार्यक्रममा मिलन पुस्तकमा लेखकहरुलाई प्रमाणपत्र सहित धन्यवाद दिइएको थियो । कार्यक्रममा स्वागत मन्तव्य जानका उपाध्यक्ष केदार पौडेलले गर्नुभएको थियो ।
जान जापानमा अध्ययन गरी फर्किएका नेपाल सरकारका बहालवाला तथा सेवा निवृत्त सरकारी कर्मचारी, विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिक, प्राज्ञ, स्वतन्त्र प्राविधिक तथा व्यवसायीको सामाजिक संस्था हो । जान नेपाल सरकार तथा जापान सरकार एवं जनताबीचको परम्परागत मित्रतालाई सुमधुर बनाउनुको साथै अध्ययनको क्रममा जापानमा आर्जित ज्ञान तथा सीप मुलुकको विकासमा लगाउने प्रमुख उद्देश्यका साथ स्थापना भई सन् १९७३ देखि नै क्रियाशील रहँदै आएको छ । यसले जापानी राजदूतावास, जाइका नेपाल, नेपाल सरकार र अन्य सरकारी तथा गैरसरकारी संघ÷संस्थाहरुसँग समन्वय गरी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।