१७ चैत्र, काठमाडौं । व्यवस्थापिका–संसद्को बिहिबारको बैठकले सांसद दुलारी देवीको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
नेकपा एमालेको तर्फबाट २०७० सालको संविधानसभा निर्वाचनमा सर्लाही जिल्लाबाट समानुपातिक सदस्यमा निर्वाचित हुनुभएका सांसद देवीको यही चैत १० गते निधन भएको थियो ।
भारतको सीतामढीमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते हुनुभएका ४६ वर्षीया सांसद देवीको ललितपुर स्थित बि एन्ड बि अस्पतालमा उपचारको क्रममा निधन भएको हो । संसद्ले उहाँको असामयिक निधन भएकोमा शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामनासहित शोक प्रस्ताव पारित गरेको हो ।
बैठकले शोक सन्तप्त परिवारप्रति समवेदना समेत प्रकट गरेको छ । व्यवस्थापिका–संसद्को अर्काे बैठक चैत २५ गते शुक्रबार दिनको १ बजे बस्ने छ ।