काठमाडौं । बाँकेमा मुख्य नाका बाहेक अन्य कुनै पनि नाकामा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेटाउन समस्या भइरहेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
जिल्लाका विभिन्न क्षेत्रका नाकाहरूमा रहेका सात वटा छोटी भन्सार कार्यालयहरू करिब दुई दशक अघि सशस्त्र द्धन्दका बेला बन्द गरिएकोमा हालसम्म पुन स्थापना हुन सकेका छैनन् । ती नाकाहुँदै ठुलो परिमाणमा विभिन्न सामाग्री राजस्व छलेर खुला रूपमा भारतबाट भित्रिने गरेकोले राजस्वको लक्ष्य पुरा गर्न समस्या भइरहेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताउनुभयो । उहाँले गत केही वर्षयता छोटी भन्सार बन्द गरिएका नाकाहरूबाट खुला रूपमा चोरी पैठारी बढेको कारण राजस्व सङ्कलनको लक्ष्य पुरा गर्न नसकिएको जिकिर गर्नुभयो । छोटी भन्सार हालसम्म पनि पुन स्थापना नहुँदा अवैध आयात निर्यात बढेकोले दैनिक ठुलो परिमाणमा राजस्व चुहावट भइरहेको भन्सार कार्यालयको भनाइ छ ।
गाउँको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनः स्थापना नगरिँदा भारतसँग सीमा जोडिएका गाउँको बाटोबाट खुलेआम तस्करी हुने गरेको स्थानीयको भनाई छ । छोटी भन्सार नभएका नाकाहरूबाट पैदल, मोटरसाइकल र साइकलमा राखेर दैनिक ठुलो परिमाणको मालसामान राजस्व छलेर नेपाल भित्रिने गरेको स्थानीय बताउँछन् ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले यति लामो खुला सिमानामा एउटा मात्र भन्सार हुँदा चोरी पैठारी अत्यधिक बढेर राजस्व सङ्कलनसँगै व्यापार व्यवसाय पनि प्रभावित भएको बताउनुभयो ।