लघुवित्तको ज्यादतीः राति १२ बजेसम्म ऋणीलाई यातना, महिलाहरु असुरक्षित महशुस गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

लघुवित्तको ज्यादतीः राति १२ बजेसम्म ऋणीलाई यातना, महिलाहरु असुरक्षित महशुस गर्दै

काठमाडौं, ९ फागुन । लघुवित्त वित्तीय संस्थाहरुले घरमै पुगेर यातना दिने गरेको भन्दै ऋणीहरुले लघुवित्त खारेज गर्नुपर्ने माग गरेका छन् ।

पछिल्लो समय लघुवित्तका कारण गाउँमा बस्ने महिलाहरु असुरक्षित महशुस गर्नुका साथै तराईका जिल्लाहरुमा ऋणीहरु यातना खेप्न बध्य भएका हुन् । लघुवित्तहरुले ऋण तिर्न नसकेको भन्दै मध्यरातमा घरमै पुगेर यातना दिने गरेको र लघुवित्तकै कर्मचारीले ऋणको दुरुपयोग गरी मिटर ब्याजमा पैसा लगाउने गरेको पीडितहरुले बताए । लघुवित्तको कर्मचारी भन्ने तर लघुवित्तको ऋणको दुरुपयोग गरी गाउँघरमा महिलाहरुलाई मिटर ब्याजमा पैसा लिन प्रोत्साहन गर्ने काम भइरहेको पीडितहरुको आरोप छ ।

गाउँघरमा लघुवित्त संस्थाका कर्मचारीले शुरुमा समूह निर्माण गर्ने जतिसुकै संस्थाबाट पनि ऋण लिन सकिने तर किस्ता भने नियमित तिर्नुपर्ने भन्दै ऋण लिन प्रोत्साहन गर्ने गरेका छन् । लघुवित्तहरुले ऋण तिर्न नसक्नेहरूको नाम पत्रिकामा छापिदिने, कर्मचारीलाई मध्यरातमा समेत ऋणीहरुको घरमा पठाउने र कर्मचारीहरुले मानसिक र शारीरिक यातना दिने गरेको बताए । किस्ता तिर्न नसक्दा लघुवित्तले हरेक वर्ष ब्याजसमेत सावाँमा जोडेर नयाँ ऋण बनाउने गरेको उनीहरुले बताए । सोमवार काठमाडौंमा भएको एक कार्यक्रम महोत्तरीकी लघुवित्त पीडित पुनमकुमारी महतोले २०७२ सालदेखि लघुवित्त र मिटर ब्याजीको समस्या खेप्नुपरेको बताउनु भयो । उहाँले पछिल्लो समय तराईका जिल्लाहरुमा मिटरब्याजी साहुहरुले महिलाहरुलाई सडकमा निर्वस्त्र बनाएर कुटपिट गरेको गुनासो गर्नुभयो । उहाँले तराईमा लघुवित्तको कारण महिलाहरु घर बस्न समेत नसकेको बताउनु भयो । उहाँले लघुवित्तका कर्मचारीहरु रातिसमेत घरमा गइ शरीरमा थुक्ने, शरीर व्यापार गरेर भएपनि ऋण तिर् भन्दै यातना दिने गरेको दुःखेसो गर्नुभयो । उहाँले लघुवित्तले ऋण तिर्न नसक्ने महिलाहरुलाई शौचालयमा थुनिदिने गरेको बताउनु भयो । उहाँले लघुवित्तहरुले घरमा ताल्चा लगाएकाले धेरै महिलाहरु घरबार बिहीन हुनुपरेको समेत बताउनु भयो । उहाँले घरमा आमा बुबाको वृद्धभत्ताको पासबुक लगेर पैसा निकालेर लघुवित्तले मनोमानी खाने गरेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सिराहको गोलबजारमा लघुवित्तका कर्मचारीहरुले आफैँ मिटर ब्याजमा पैसा लगाएर ५ हजारको महिनामा १ हजार लिने गरेको छ । लघुवित्तको कर्मचारी भएर बस्ने तर लाखौं रुपैयाँ मिटर ब्याजमा लगाउने गरेको छ । लघुवित्त र मिटर ब्याजीको समस्यामा हामी २०७२ सालदेखि पिडामा छौं । मिटर ब्याजीहरुले महिलाहरुलाई चोकचोकमा लगाएरको सारी खोलेर कुट्छन् । तराईका गाउँमा महिला दिदी बहिनीहरु लघुवित्तको कारण बस्न सकेका छैनन् । लघु वित्तका कर्मचारीहरु रातीको ९ बजेपछिसम्म चुलोको पछाडि खाना बनाउने ठाउँमा बस्छन् । शरीरमा थुक्ने गर्छन् । झुन्डिएर,बिस पिएर मर भन्ने गर्छन् । शरीर व्यापार गर् भन्छन् । के हामी यो देशको नागरिक होइन ? यो देशमा बस्ने अधिकार हामीलाई छैन ? लघुवित्तले ऋण तिर्न नसक्ने महिलाहरुलाई शौचालयमा थुनिदिन्छ । मेरो घरमा बसेर जे भन्छु त्यही गर् भन्छन् । लघुवित्त संस्थाहरुले कर्मचारी राखेको हो की तानाशाह राखेको हो ? धेरै महिलाहरु लघुवित्तको कारण गाउँ छाडेर भागिसकेका छन् । लघुवित्तहरुले घरमा ताल्चा मार्ने गरेको छ । घरमा आमा बुबाको वृद्धभत्ताको पासबुक लगेर पैसा निकालेर लघुवित्तले खाने गरेको छ । शुरुमा पाँच वटा लघुवित्त समूहमा थिए ।’

त्यस्तै,अर्को सिराहाकी सुनिता विश्वकर्माले लघुवित्त संस्थाबाट लिएको १ लाख ५० हजार ऋण पाँच वर्षसम्म तिर्दा पनि अहिलेसम्म नसकिएको बताउनु भयो । उहाँले ११ वटा लघुवित्त समूहबाट ऋण लिएको बताउनु भयो । उहाँले आफूले एउटामा ३० र अर्कोमा ४० हजार रुपैयाँ ऋण तिर्न भएपनि लघुवित्तले १ लाख नै रहेको भन्दै तत्काल तिर्न दबाब दिँदै आएको बताउनु भयो । उहाँले लघुवित्तका कर्मचारीहरु ऋण उठाउनको लागि बिहान १० बजेदेखि बेलुका १० बजेसम्म घरमा नै बस्ने गरेको बताउनु भयो । उहाँले लघुवित्तको ऋण तिर्दा तिर्दा भएका गाईवस्तु र लगाएको सुन समेत सकिएर सुकुम्वासी जस्तै भएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो,‘मैले ११ वटा लघुवित्तबाट ऋण लिएको छु । बाख्रा र कुखुरा पालनको लागि १ लाख र अर्कोबाट ५० हजार लिएको थिए । त्यो पैसा तिर्दै गयो । आदि भयो होला भन्यो लघुवित्तले तपाईको ऋण एक लाख नै हुन्छ । जति तिरे पनि सकिदैन । मैले दिनुपर्ने एउटामा ३० हजार अर्कोमा ४० हजार दिन बाँकी छ तर लघुवित्तले १ लाख छ तिर्न बाँकी भन्छन् । बिहान १० बजे लघुवित्तका कर्मचारी आए भने बेलुका १० बजेपछि मात्रै जानुहुन्छ । भएका गाई वस्तुहरु र भएको सुन समेत सकियो अहिले केही छैन ।’

त्यस्तै,रौतहट घर भएकी डिल्लीकुमारी कार्की मिटर व्याजमा लिएको ऋण तिर्न लघुवित्तबाट ऋण लिएको बताउनु भयो । उहाँले मिटर ब्याजमा पैसा दिनेले धेरै फसाएर सुकुम्वासी बन्ने लागेको अवस्थामा लघुवित्तले झन पीडा थपेको बताउनु भयो । कार्कीले मिटरब्याजी साहुले भएको जग्गा जमिन समेत लिलाममा हालेर खाएको बताउनु भयो । उहाँले लघुवित्तबाट एक लाख रुपैयाँ ऋण लिएर महिनाको १२ हजार किस्ता बुझाउँदा समेत कहिल्यै नसकिने गरेको बताउनु भयो । उहाँले फरवाड,मेरो माइक्रो,मिथिला,डिप्रोस,गरिबी र साना किसान लघुवित्तको समूहमा बसेर ऋण लिएको बताउनु भयो । उहाँले यी लघुवित्तहरुमा १ लाख रुपैयाँ ऋण लिँदा जति किस्ता तिरे पनि त्यति नै ऋण देखाउने गरेको बताउनु भयो । कार्कीले लघुवित्तहरुको किस्ता तिर्दातिर्दै भएको सबै सम्पती सकिएपछि संस्थाका कर्मचारीहरु घरमा आएर यातना दिँदा १३ वर्षको छोरीले तीन महिना अगाडि आत्महत्या गरेको बताउनु भयो । उहाँले अहिले लघुवित्तको कारण घर छाडेर भाडामा समेत बस्न नसक्ने अवस्थामा रहेको गुनासो गर्नुभयो ।

त्यस्तै,विभन्न बाहिर जिल्ला छाडेर काठमाडौं उपत्यकामा आएर लघुवित्त समूहमा बसेर ऋण लिएर व्यवसाय गर्ने कमला मुक्तान र सुनमाया तामाङलाई समेत लघुवित्तले यातना दिएको गुनासो गरेका छन् । उनीहरुलाई लघुवित्तहरु आफैँले समूह बनाएर ऋण लिन बोलाएको र अहिले एउटाले ऋण तिर्न नसक्नेको भन्दै सबै महिलाहरुको निक्षेप समेत दिन नमानेको बताउनु भयो । उहाँले तत्काल किस्ता तिर्न पैसा छैन भन्दा समेत जसरी जहाँबाट भएपनि २८ दिनमा किस्ता बुझाउनुपर्ने भन्दै दबाब दिएको बताउनु भयो ।

उदार बजार अर्थतन्त्रमा लघुवित्त संस्था आफैँ जिम्मेवार बन्नुपर्ने भएपनि पछिल्लो समय त्यस्तो देखिएको छैन । लघुवित्तबाट ऋण लिने ३३ लाख ऋणी छन् । राष्ट्र बैंकले सुपरीवेक्षण गरेपछि ऋणीबाट लिन पाइने भन्दा बढी असुल गरेको १ अर्ब ६० करोड सेवाशुल्क फिर्ता गर्न लघुवित्तहरु तयार भएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);