काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई कारबाहीको लागि प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको छ ।
आज बिहान बसेको प्रदेश कमिटिको पूर्ण बैठकले पार्टी हित विपरित गतिविधि गरेको भन्दै कारबाहीको लागि केन्द्रमा सिफारिस गरिएको एमाले स्थायी कमिटि सदस्य तथा प्रदेश इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिनुभयो । केन्द्रीय कमिटी सदस्य भएकाले हामीले यहाँबाट कारबाही गर्न नमिल्ने भएकोले केन्द्रमा सिफारिस गरेको उहाँले बताउृनु भयो ।
केही समयदेखि एमाले विरोधी गतिविधि गरेको भन्दै प्रसाईलाई पार्टीबाट निष्कासन गर्नुपर्ने आवाज उठेपछि कारबाहीको लागि केन्द्रमा सिफारिस गरिएको हो । एमालेको नीति सिद्धान्त विपरीत केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाहसँगै छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि प्रसाई विवादमा पर्नुभएको हो ।
मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गर्नु भएको छ । उहाँले गत सोमबार काँकडभिट्टाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ सुरु गरिसक्नु भएको छ ।




