काठमाडौं, १४ पुष । काठमाडौंको बालाजु क्षेत्रका स्थानीय वासिन्दाले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको ग्यास उद्योग हटाउन माग गरेका छन् ।
बालाजु क्षेत्रका स्थानीय वासिन्दाले ग्यास उद्योगका कारण आफुहरु असुरक्षित रहेको भन्दै उद्योगलाई अन्यत्रै स्थानान्तरण गर्न माग गरेका छन् । उद्योगको स्थानान्तरणका लागि दबाब दिने उद्देष्यले स्थानीयवासीहरुले आज बालाजु औद्योगिक क्षेत्रमा प्रदर्शन गरेका छन् ।
बालाजु औद्योगिक क्षेत्रभित्र नेपाल ग्यास उद्योग छ । केही दिन पहिले वीरगञ्ज महानगरपालिकामा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएपछि बालाजुका स्थानीयवासी त्रसित भएका हुन् ।