काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसले बालाजु बसपार्क क्षेत्रमा भएको घटनाको निन्दा गरेको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा समय माग गरि बोल्दै कांग्रेसका प्रवक्ता एवं सांसद प्रकाशशरण महतले सो घटनाको निन्दा गरेका हुन् । दिनदहाडै राजधानीमा लुटपाट मच्चिदा पनि सरकारले सुरक्षाको प्रत्याभुति दिन नसकेको उनले आरोप लगाए ।
बसपार्कलाई व्यवस्थित गर्दै बस व्यवसायीहरुले कानून र नियम अनुसार काम गर्न पाउनुपर्ने र पार्किङ सुविधाको प्रयोग गर्न पाउनुपर्ने उनको भनाइ थियो । महतले मजदुरको नाममा अरु नै पसेर लुटपाट मच्चाएको हुनसक्ने आशंका व्यक्त गरे । घटनाको दोषीलाई छानविन गरी कारबाही गर्नुपर्ने र यातायात व्यवसायीको जायज मागलाई पुरा गर्नुपर्नेमा उनले जोड दिए ।
‘काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रत्याभुति सरकारले दिन सक्दैन भने दूरदराजमा बस्ने नागरिकहरुको हालत के हुनसक्दछ । त्यसतर्फ सरकार गम्भिर हुन जरुरी छ । तत्कालै दोषीहरुलाई कारबाही गर्न जरुरी छ ।’उनले भने, ‘यातायात मजदुरहरुको जायज मागहरुलाई पनि तत्काल सम्बोधन गर्न जरुरी छ ।’




