बैंकहरूलाई जथाभावी लगानी नगर्न राष्ट्र बैंकको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, १४ पुष । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले बैंकहरूलाई जथाभावी लगानी नगर्न निर्देशन दिएका छन्। नेपाल बैंकर्स एसोसिएनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना र पूर्वअध्यक्ष राजनसिंह भण्डारीसँग बिहीबार भएको भेटमा नेपालले यस्तो निर्देशन दिएका हुन्। ‘बजारमा लगानीयोग्य पुँजी अभाव हुँदै गएको अवस्थामा बैंकर्सलाई जथाभावी लगानी नर्गन निर्देशन दिएको छु’, गभर्नर नेपालले भने, ‘बैंकले पुँजी बढ्यो भन्दैमा जथाभावी लगानी गर्न मिल्दैन।’

बैंकर्ससँगको भेटमा गभर्नरले पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) नाघ्यो भने कारबाही गर्ने चेतवानी समेत दिएका छन्। ‘बैंकलाई सीसीडी क्यापभित्र बसेर लगानी गर्न निर्देशन दिएको छु’, उनले भने, ‘बैंकहरूले आक्रामक रूपमा लगानी गर्दा र सरकारी रकम खर्च हुन नसक्दा लगानीयोग्य पुँजी अभाव भएको हो।’

बैंकले एक सय रुपैयाँ निक्षेप संकलन गर्‍यो भने ८० रुपैयाँसम्ममात्र लगानी गर्न पाउने व्यवस्था छ। राष्ट्र बैंकका अनुसार हाल सरकारी बैंकको सीसीडी रेसियो ७२ प्रतिशत र निजी बैंकको ७७ प्रतिशत छ।

बैंकमा लगानीयोग्य पुँजी अभाव (क्रेडिट’ क्रन्च) भएपछि कर्जा रोक्ने तयारी गरेका बैंकहरूले हालको अवस्थालाई सम्बोधन गरी निकास दिन गर्भनरलाई अनुरोध गरेका छन्। शुक्रबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेट्ने कार्यक्रम रहेको अध्यक्ष ढुंगानाले बताए। ‘उहाँलाई भेटेर हामी अहिलेको वास्तविक अवस्थाका बारेमा जानकारी गराउने छौं’, उनले भने, ‘समस्याको निकास खोज्न हामी नियामक निकाय राष्ट्र बैंक गयौं र अर्थ मन्त्रालयले जान लागेका छौं।’

तरलता अभावका कारण निक्षेपको ब्याज बढाएर महँगो कर्जा प्रवाह गर्नुपर्ने वाध्यता भएको बताउँदै आएका बैंकर्सहरूले ब्याजदर बढ्नुलाई चुनौतीका रूपमा लिएका छन्। ‘बढ्दो ब्याजदर हाम्रो ठूलो समस्या हो’, बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष भण्डारीले भने,‘मन्त्रीज्यूसँग यसबाट कसरी निकास पाउन सकिन्छ, यसवारे विशेष छलफल गर्नेछौं।’

बजारमा लगानीयोग्य पुँजी अभाव देखिन थालेपछि यसलाई चर्कन नदिन हाल देखिएको समस्यालाई जतिसक्दो छिटो समाधान गर्ने विषयमा गभर्नरसँग छलफल भएको अध्यक्ष ढुंगानाले बताए। भेटमा गभर्नरले राष्ट्र बैंकले बजारको वास्तविक अवस्था बुझेकाले समस्या समाधानका लागि कदम चाल्ने बताउनुभएको छ’, भण्डारीले भने।

सरकारले खर्च गर्न नसक्दा सरकारी ढुकुटीमा करिब साढे तीन खर्ब रुपैयाँ थुप्रिएको छ। स्थानीय निकायको रकम खर्च नहुँदा र पुँजीगत खर्च हुन नसक्दा बैंकमा लगानीयोग्य पुँजी अभाव छ। बैंकलाई प्रतिबद्धता गरेको लगानी पुर्‍याउनै धौ धौ भएकाले नयाँ कर्जा दिनसक्ने अवस्थामा नभएको भण्डारीले बताए।

‘ब्याज बढाएर चुनौती खेप्दै निक्षेप आकर्षण गर्नुभन्दा कर्जा प्रवाह रोक्नु राम्रो हुन्छ’, उनले भने, ‘बैंकले कर्जा प्रवाहमा रोक लगाए आर्थिक गतिविधिमा संकुचन आउनेछ।’ महँगो ब्याजमा निक्षेप आर्कषण गरेर कर्जा प्रभाव गर्नुभन्दा रोक्नु कर्जा राम्रो हुन्छ।’ पुस ७ गतेसम्म वाणिज्य बैंकले २१ खर्ब ९९ अर्ब निक्षेप संकलन गरेका छन्। बैंकहरूले १८ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। राष्ट्र बैंकका अनुसार हाल बैंकहरूमा ३१ अर्ब ९५ करोड तरलता छ। नेपालमा २८ वटा वाणिज्य बैंक छन्। हाल अन्तरबैंक ब्याजदर ४ दशमलव ३३ प्रतिशत छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);