वृत्तचित्रमा पार्किन्सन्स पीडा : अभिनेता मदनकृष्ण श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

वृत्तचित्रमा पार्किन्सन्स पीडा : अभिनेता मदनकृष्ण श्रेष्ठ

काठमाडौं १४ पुस । फिल्म ‘हाँसी देऊ एक फेर’ को सुटिङमा लड्नुपर्ने दृश्यमा अभिनय अभिनेता मदनकृष्ण श्रेष्ठको ढाड दुख्यो । तर, दुखाइलाई बेवास्ता गर्दै  सुटिङ जारी राखे । त्यो सुटिङ सकिएको केही महिनापछि ‘हिंसा अन्त्य अभियान’का लागि प्लेनमा नेपालगञ्ज जाँदा उनको दाहिने काँध हात दुख्यो । ‘हात दुख्न थालेपछि डाक्टरलाई देखाएँ । सेकताप, अकुपेन्चर, रेडियो थेरापी सबै गराएँ । तर, पनि ठिक भएन । जाडो महिनामा पनि हात उठाएर सुतें ।’

अभिनेता श्रेष्ठले सुनाएको माथिको कथा कुनै फिल्मको दृश्य थिएन । पार्किन्सन्सका रोगी अभिनेता श्रेष्ठको वास्तविक कथा थियो जुन डकुमेन्ट्रीमा कैद भएको थियो । उनीजस्तै पार्किनसन्स पीडित व्यक्तिहरूको जीवनी समेटिएको ‘लिभिङ विथ पार्किन्सन्स डिजिज’मा अभिनेता श्रेष्ठले पनि रोगसँगको साक्षात्कारका सम्बन्धमा आफ्नो अनुभव सुनाएका थिए ।
उनले डकुमेन्ट्रीमा रोग लागेको खबरले आफूले धेरै नै आहत बनाएको बताए  ।

‘ लामो समयपछि डाक्टरले मलाई पार्किन्सन्स भएको पत्ता लगाए । त्यो सुन्दा सुरुमा म त झस्किएँ । डाक्टरले उच्च डोजको दबाई खान सल्लाह दिए । बाहिर चेकजाँच गराउँदा दिइएको औषधि तुरुन्तै नखाइ आफ्नो जाँच गर्ने चिकित्सकलाई देखाएर मात्र खानु भन्ने सल्लाह नै दिए ।’

घरमा श्रीमति क्यान्सरलाई क्यान्सर भएको पत्ता लागेपछि उनलाई लिएर बैंग्लोर, दिल्लीलगायतका देशमा गए । त्यहाँ लिएको औषधि खान पनि उनी डराए । बैंग्लोरका डाक्टरले हाइ डोजको औषधि दिएपछि मात्र उनलाई पार्किन्सन्सको औषधि हो भन्ने ढुक्क भयो । ‘पार्किन्स भएपछि हिँड्दा पनि खुट्टा घस्रन थाल्यो । आवाजले नै छिमेकीले मदनकृष्ण आउँदैछ है भन्थे,’वृत्तचित्रमा मदनकृष्णले स्मरण गरे,‘यसको औषधिले केही समय मात्र काम गर्दो रहेछ । सार्वजनिक कार्यक्रममा गइरहनुपर्छ । त्यस्तो कार्यक्रममा भाषण गर्दा धेरै बेर बोलेपछि जिब्रो पनि लर्बरिने अनि बोलेको कुरा पनि बिर्सिइदो रहेछ ।’

मदनकृष्णभन्दा उमेरले धेरै कान्छी बनिता खनालको पीडा मदनकृष्णकोभन्दा फरक छ । सानैदेखि ठूलो भएर सगरमाथा चढ्ने सपना साँचेकी बनितालाई १९ वर्षको उमेरमा पार्किन्सन्सको लक्षण देखिएपछि उनको सपना कलिलै उमेरमा तुहियो । हात र खुट्टा अनौठोगरि चल्न थालेपछि उनको परिवारले धामी झाँक्री देखाउने काम पनि गर्योे । तर, केही बदलिएन । ‘स्कुलको कक्षामा लेख्दा हातको औलामा लेख्ने शक्ति नै हुँदैन थियो ।

मलाई हिलवाला सेन्डल, फेन्सी कपडा लगाउन मन लाग्थ्यो । तर, शरीरको कारण त्यो लगाउन सकिएन,’भावुक बन्दै उनले भनिन्,‘एकपटक साथीको विवाहमा जाँदा अचानक लडें । सबैले के भयो भनेर सोध्न थाले । तर, के भएको हो थाहा नै पाइएन । पछि चेकजाँच गरेपछि पार्किन्सन्स हो भन्ने पत्ता लाग्यो ।’ पार्किन्सकै विषयमा वृत्तचित्र बनाउने क्रममा मदनकृष्णसँग भेट भएपछि बनितामा एउटा नयाँ हौसला आएको छ ।

ट्रिलोजी डिजिटल मिडिया टिमको सहयोगमा इन्फ्ल्युन्सर नेपालले आयोजना गरेको वृत्तचित्र प्रदर्शनीको बनिता मध्यस्थकर्ता पनि हुन् । लामो समयदेखि पार्किन्सन्सको विषयमा वकालत गर्दै आएकी बनिताले आम जनमानसमा पार्किन्सन्सबारे चेतना जगाउन वृत्तचित्र निर्माण गरेको बताइन् । ‘हामीले पार्किन्सन्सको लक्षण, यसको डायग्नोसिसको प्रक्रिया र त्यसपछिको जीवनलाई कसरी बिताउने भन्ने चेतना वृत्तचित्रमार्फत दिन चाहन्छौं ’ बनिताले भनिन् ।

वृत्तचित्रमा मदनकृष्ण र बनितासहित हरि काफ्ले र तिलकबहादुर सापकोटाको कथा प्रस्तुत गरिएको छ । चार वर्षअघि दाहिने काँध दुखेर बाँसबारी अस्पताल पुगेका हरिले झण्डै पाँच महिनासम्म हात दुखेको औषधि खाए । ‘प्यारालाइसिस जस्तो हुन थालेपछि कलकत्ता गएर जाँच गराउँदा पार्किन्सन्स भन्ने थाहा पाएँ । त्यसपछि नियमित औषधि सेवन गरिरहेको छु,’कपडा व्यवसायी उनले भने,‘लेख्न मिल्दैन । त्यसकारण चेकको कारोबार गर्न समस्या परेको छ । यात्रा गर्दा पनि निकै कमजोर महसुस गर्ने गरेको छु । चार वर्षयता दुःखको जीवन बिताउन बाध्य छु ।’ पसलमा अनेक थरिका ग्राहक आउने भएकाले पनि कर्मचारीलाई जिम्मा लगाएर बाहिर निस्कने गरेको उनले सुनाए ।

होटल मेनेजमेन्टका प्राध्यापक तिलक ६ वर्षदेखि पार्किन्सन्सबाट पीडित बिरामी हुन् । प्रारम्भिक चरणमा जिउमा केही बदलाव आएपछि डाक्टरलाई देखाउँदा उनलाई पार्किन्सन्स भएको खुलेको थियो । ‘पार्किन्सन्सपछि जीवन बदलिएको छ । ट्रेकिङमा जान रुचाउने म यो रोग लागेपछि उकालो हिँड्न सक्दिन । जिउ कमजोर भएर आउँछ,’उनले भनेका छन् ‘रोग देखिएपछि जिउले शारीरिक व्यायाम पाएको छ । त्यो सकारात्मक कुरा हो ।

छिमेकी साथीभाइलाई मलाई पार्किन्सन्स छ भन्ने थाहा छ । तर, मेरो बारे थाहा नपाउनेले बिरामी छ भनेर हल्ला फिजाउँछन् ।  बनिताका अनुसार झण्डै एक महिना लगाएर निर्माण गरिएको यो वृत्तचित्रलाई चाँडै नै अन्य स्थानमा पनि देखाइनेछ । ‘अन्य स्थानमा देखाउने योजना बनाइरहेका छौं, तर कहिले गर्ने भन्ने टुंगो छैन ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);